काठमाडौँ, १७ चैत(ओएनएस) : व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले सत्य निरूपण तथा मेलमिलाप आयोगलाई युद्धकालिन समयमा भएका मानवअधिकार उल्लंघनका घटनामा उजुरीहरूमा काम कारबाहीका लागि काम सुरू गर्न निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकले आयोगलाई आफ्ना कार्ययोजना प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि निर्देशन दिएको हो । समितिको बैठकले आयोगलाई समयमै प्रतिवेदन तयार गरेर प्रतिवेदनको कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न निर्देशन दिएको छ ।
बैठकमा आयोग अध्यक्ष सूर्यकिरण गुरुङले आगामी १० महिने कार्ययोजना पेश गरेका थिए ।
बैठकले आयोगलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन नेपाल सरकारलाई समेत निर्देशन दिएको छ । समितिका सभापति सुशील श्रेष्ठले यदि आयोगले आफ्नो प्रभाववकारी काम नगर्ने हो भने नेपाली सेनाका कर्णेल कुमार लामाको जस्तै घटना दोहोरिने तर्फ सजग हुनुपर्ने बताए ।