दुई पटक महाभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति

52
  •  
  •  
  •  


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लागेको छ । गएको हप्ताको बुधबार राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थक (केही हतियारसहितका) लाई उक्साएर बिद्रोह निम्त्याएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो ।

उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो। सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ। महाभियोग पारित हुन २१७ मत आवश्यक थियो। तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन्।

तर ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्। विपक्षमा १९७ जना रिपब्लिकन सांसद देखिए। तल्लो सदनले सन् २०१९ मा पनि उनी विरुद्ध महाभियोग पारित गरेको थियो। तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभियोगमा साथ दिएका थिएनन्।

सिनेटले उनलाई आरोपमुक्त गरिदिएको थियो। अब उक्त प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ। त्यसको निम्ति दुई तिहाइ बहुमत आवश्यक हुन्छ।
त्यो सङ्ख्या पुर्‍याउन ट्रम्पको दलका सिनेटरहरूको पनि साथ आवश्यक हुने बताइएको छ। कम्तीमा १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्ष र महाभियोगको पक्षमा उभिनु पर्नेछ। न्यूयोर्क टाइम्सले २० जना रिपब्लिकन सिनेटहरू ट्रम्पलाई दोषी ठहर्‍याउने पक्षमा रहेको उल्लेख गरेको छ।


  •  
  •  
  •