अमेरिकी चुनाव: जित स्पष्ट भएको बाइडनको प्रतिक्रिया, ट्रम्प अदालत जाने

बाइडेन २६४-ट्रम्प २१४(अपडेट)
80
  •  
  •  
  •  

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा दुई प्रतिष्पर्धी जो बाइडेन र डोनाल्ड ट्रम्पबीच कडा टक्कर देखिएको छ । डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् । यता राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।

यो समाचार तयार पार्दासम्म बाइडनले २६४ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन्।
महत्त्वपूर्ण परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन्।

मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने,‘जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ।’ नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा उनले जोड दिए।
उनले आफू सबै अमेरिकीको राष्ट्रपती’ हुने प्रतिबद्धता जनाए। चुनावी प्रचार अभियानमा बेला पनि उनी त्यसो भन्ने गर्थे।

राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा धाँधली भएको आरोप लगाएका छन् र सर्वोच्च अदालतमा कानुनी चुनौती दिने बताएका छन्। तर बाइडनको चुनावी प्रचार समूहले राष्ट्रपतिको अभिव्यक्ति ‘अपमानजनक’ भएको भन्दै मतगणना नरोकिने जनाएको छ। ट्रम्पको चुनावी प्रचार समूहले पेन्सल्भेनियामा मतगणना रोक्न माग गर्दै अदालत जान लागेको जनाएको छ।

मतगणनाको पूर्ण नतिजा नआउँदै र ट्रम्पले त्यहाँ जित्ने कुनै प्रक्षेपण नहुँदै उक्त समूहले पेन्सल्भेनियामा राष्ट्रपतिले जितेको घोषणा गरेको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन पेन्सल्भेनिया र जोर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ।

अभियानका एक अधिकारी जस्टिन क्लार्कले डेमोक्र्याटहरूले रिपब्लिकनहरूको मतमा अनियमितता गरेको आरोप लगाए।

त्यसअघि ट्रम्पको अभियान समूहले विस्कन्सिनमा आफूहरूले पुनः मतगणना चाहेको जनाएको थियो। अन्तर्राष्ट्रिय पर्यवेक्षणहरूले चाहिँ चुनावमा धाँधली भएको नदेखिएको बताएका छन्।

बीबीसी


  •  
  •  
  •