समर्थकलाई अभिवादन गर्न अस्पतालबाट सडकसम्म निस्किए ट्रम्प

133
  •  
  •  
  •  

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ को उपचार भइरहेको अस्पताल बाहिर निस्किएर समर्थकहरूलाई अभिवादन गरेका छन् ।

आफूले ‘आश्चर्यजनक भ्रमण गर्ने’ भनि ट्वीट गरेको केही क्षणमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै अभिवादन गरेका थिए ।
महामारी नियन्त्रण गर्ने नीतिलाई लिएर आलोचित हुँदै आएका ट्रम्पले भाइरसबाट आफूले धेरै सिकेको पनि बताए।

यसअघि उनका डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार हुने क्रम जारी रहेको र सोमबार अस्पतालबाट फर्किन सक्ने जानकारी दिएका थिए। डा. सीन कोन्लीका अनुसार ट्रम्प सङ्क्रमित भएपछि दुई पटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो।

डा. कोन्लीले ट्रम्पलाई कम्तीमा एक पटक अक्सिजन दिइएको बताए। ट्वीटमा राष्ट्रपति ट्रम्पले आफ्नो निम्ति साँच्चिकै विद्यालय गए जस्तो भएको बताएका छन्।
उनले भनेका छन्,‘यो साँच्चिकै विद्यालय जस्तो छ। यो किताबहरूको विद्यालय होइन्। मैले त्यो पाएँ र बुझेँ। साँच्चिकै चाखलाग्दो यसबारेमा तपाईँहरूलाई जानकारी गराउने छु।’

उनले कोरोनाभाइरस नियन्त्रणका निम्ति अपनाउनु पर्ने सावधानीको बेवास्ता गरेको भनि निकै आलोचना हुने गरेको थियो।

उनले सामाजिक दूरी नराखेको र मास्क नलगाएको तस्बिरहरू देखिने गरेका थिए। ट्रम्प सङ्क्रमित भएको कुरा शुक्रवार सार्वजनिक गरिएको थियो जसले उनको चुनावी अभियानलाई अन्योलमा पारिदिएको थियो। उनले नोभेम्बर ३ तारिखमा हुने चुनावमा डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनको सामना गर्नेछन्।

बीबीसी


  •  
  •  
  •