अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी श्रीमतीलाई कोरोना संक्रमण

132
  •  
  •  
  •  

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफू र श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएका छन्।

तस्बिरः एएफपी

उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा कोरोना सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले परीक्षणको नतिजाको पर्खाइमा थिए । साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्।

बुधबार ट्रम्प मिनेसोटामा भएको एउटा र्‍यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा उनी अझ नजिक देखिएकी बीबीसीले उल्लेख गरेको छ ।

बिहीवार राति ट्रम्पले ट्विटरमा भनेका छन्, ‘छोटो समयको छुट्टि समेत नलिइकनै निकै खटेर काम गर्ने होप हिक्सलाई भर्खर कोभिड–१९ देखिएको छ। खराब भयो ।’

विश्वमा सबैभन्दा बढी कोरोना भाइरसबाट प्रभावित देशमा अमेरिका रहेको छ । अमेरिकामा कुल संक्रमित ७४ लाख ९४ हजार ६७१ जना पुगेको छ । २ लाख १२ हजार ६६० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

संक्रमितमध्ये ४७ लाख ३६ हजार ६२१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ४५ हजार ३९० जना रहेका छन् ।


  •  
  •  
  •