तेल ल्याएको भन्दै जिउदै आगो लगाउने प्रयास

288
  •  
  •  
  •  

विराटनगर, १० मंसिर(ओएनएस) : मधेशी मोर्चाका कार्यकर्ताले एक सर्वसाधरणलाई जिउँदै जलाउने प्रयास गरेका छन् । आन्दोलनका क्रममा भारतबाट पेट्रोलियम पदार्थ ल्याएको भन्दै मोर्चाका कार्यकताले जिउँदै जलाउने प्रयास गरेका हुन् ।

भारतसँग नजिक रहेको भाथीगाछ गाविसमा मधेसी मोर्चाका कार्यकर्ताले बब्लु राजवंशीलाई पेट्रोल छर्किएर जलाउने प्रयास गरेका हुन् । राजवंशीको आधा शरिर जलेको छ । को १ प २४५० नम्बरको मोटरसाइकलमा १५ लिटर पेट्रोल लिएर आउँदै गर्दा सोही गाविसकै अजय सिंह, जुगेश्वर मुखिया, र जितेन्द्र मुखियलाले जलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

उनलाई उपचारकालागि कोशी अञ्चल अस्पतालमा भर्ना गरिएपनि उपचार हुन नसकेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ । कोशी अञ्चल अस्पतालको इमरजेन्सी वार्डमा उपचारपछि धरान रेफर गरिएको हो । राजवंशीको शरीरको आधा भाग जलेको छ ।

भातिगछ वडा नं २ स्थित आफ्नो ग्यारेजमा भारतबाट पेट्रोल बोकेर आउँदै गर्दा मोर्चाको कार्यकर्ताले जिउदै जलाएर हत्या गर्ने प्रयास गरेको बताइएको छ । राजवंशीले प्रतिकार गर्न खोज्दा उनैले बोकेको पेट्रोल छर्किएर आगो लगाइएको पीडितका आफन्तले बताए ।

मोरङका प्रहरी प्रवक्ता प्रमोद खरेलले बिहान साढे ११ बजे घटना भएको जानकारी दिए । उनले भने, ‘तिनजनाले आक्रमण गरेका हुन् ।’ मोटरसाइकलमा १५ लिटर पेट्रोल लिएर आउँदा बाटोमा रोकेपछि विवाद भएको र विवादपछि तेल पोखेर आगो लगाउँदा राजवंशी जलेको प्रहरीको भनाई छ । उनको दाहिने हात र छाती जलेको छ ।

डिएसपी खरेलले भने, ‘हामी अनुसन्धानमा छौ । आक्रमणकारीको खोजी गरीरहेका छौ ।’

आक्रमणकारी पक्राभएपछि मात्र सवै तथ्य बाहिर आउने उनले बताए । उनले भने, ‘मोर्चाका कार्यकता हुन या होइनन अनुसन्धान गर्दैछौ ।’


  •  
  •  
  •