त्रिविमा प्राध्यापक बढ्दै, विद्यार्थी घट्दै

193
  •  
  •  
  •  

काठमाडौँ, १० पुस ।
त्रिभुवन विश्वविद्यालयमा केही वर्षयता विद्यार्थी संख्या ह्वात्तै घटेको छ । विभिन्न तहका प्राध्यापक संख्या भने क्रमशः बढेको छ । विद्यार्थी घटेपछि प्राध्यापकको भारसमेत कम हुँदै गएको छ । स्नातक र स्नातकोत्तर तहमा झन्डै आधा लाख विद्यार्थी घटेका छन् । त्रिविको अद्यावधिक तथ्यांकअनुसार आर्थिक वर्ष ०७१-७२ मा एक लाख ४८ हजार एक सय ४१ विद्यार्थी रहेकोमा चालू आव ०७२-७३ मा ९९ हजार ४५ मा झरेको छ । ४९ हजार ९६ विद्यार्थी संख्या घटेको त्रिविको रेकर्ड छ । आव ०७०-७१ मा भने आंगिक क्याम्पसमा दुई लाख ७३ हजार तीन ४९ विद्यार्थी रहेको त्रिवि योजना महाशाखाले जनाएको छ । ०७१-७२ मा अघिल्लो वर्षको तुलनामा एक लाख २५ हजार दुई सय आठ विद्यार्थी घटेका थिए ।

एक प्राध्यापक १३ विद्यार्थी
त्रिविमा सहायक प्रशिक्षकदेखि प्राध्यापकसम्म गरी सात हजार पाँच सय ९२ शिक्षक रहेको योजना महाशाखाको तथ्यांक छ । यस हिसाबले एक शिक्षकलाई १३ विद्यार्थीको भार पर्छ । अझै शिक्षक संख्या थपिँदै छन् । यस वर्ष खुला प्रतिस्पर्धाबाट झन्डै ६ सय उपप्राध्यापक थपिने त्रिविका रजिस्ट्रार डिल्ली उप्रेतीले जानकारी दिए । उपप्राध्यापक तहको लिखित नतिजा आएपछि अहिले धमाधम अन्तर्वार्ता भइरहेको छ । नयाँ थपिएपछि शिक्षकको भार झन् कम हुनेछ ।
नयाँ पत्रिकाबाट


  •  
  •  
  •