‘प्रत्येक नेपालीलाई जन्मदिनमा विरुवा उपहार’

240
  •  
  •  
  •  

काठमाडौ, ३१ जेठ(ओएनएस) :  गान्धी इन्टरनेशनल मिसन नेपाल च्याप्टरले प्रत्येक नेपालीलाई जन्मदिनमा निःशुल्क विरुवा उपलब्ध गराउने भएको छ । साथै मिसनले काठमाडौं उपत्यकामा १० हजार विरुवाहरु रोप्ने भएको छ ।

आइतबार प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा मिसन नेपाल च्याप्टर अध्यक्ष सुशिल अग्रवालले काठमाण्डौ उपत्यकामा १० हजार विरुवाहरु रोप्ने र विश्वभर दशलाख विरुवा रोप्ने उद्देश्य रहेको बताएका हुन् । कार्यक्रमको पहिलो चरणमा सरकार प्रमुखबाट सम्पन्न भएपछि प्रत्येक नेपालीलाई जन्म दिनको दिन निशुल्क रुपमा विरुवा उपलब्ध गराउने मिसनले जनाएको छ ।

आगामी कार्यक्रम सिंहदरवार परिसर र नेपाल टेलिभिजन परिसरका साथै संयुक्त राष्ट्रसंघ भवनमा विरुवा रोप्ने कार्यक्रम रहेको गान्धी इन्टरनेशनल मिसन नेपाल च्याप्टरले जनाएको छ ।

अभियानले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कोइरालालाई रुखका विरुवाको हस्तान्तरण गर्‍यो । ‘रुख रोपौं धर्ति बचाऔं’, भन्ने नाराका साथ लामो समयदेखि अभियान चलाइरहेको मिसनले प्रधानमन्त्री निवास वालुवाटारमा आध्यात्मिक तथा धार्मिक रुपमा पनि महत्वपूर्ण मानिने बर, पिपल, समि, डुम्रि र धुपि सहित पाँच प्रकारका विरुवा प्रधानमन्त्री निवासमा रोप्नको लागि हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री कोइरालाले जलवायु परिवर्तनले विश्व वातावरणमा पर्दै गएको प्रभावलाई न्यूनिकरण गर्न र जलवायु परिवर्तले गर्दा आज विश्वमा हिँउको मात्रा घट्दै गएको र गर्मीको मात्रा बढेकोे, अधिक वर्षात्, खण्डवृष्टि, अनावृष्टि जस्ता समस्या विश्वले नै भोग्नु परिरे अवस्थामा मिसनले ल्याएको प्राकृतिक प्रकोपबाट विश्वलाई बचाउने यस्तो महत्वपूर्ण कामको सराहना गर्दै अभियानको सफलताको कामना गरे ।


  •  
  •  
  •