पहाडी जिल्लामा एक चौथाई भन्दा कम खाद्यान्न ढुवानी

186
  •  
  •  
  •  

धनगढी, १४ पुस(ओएनएस) : सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा अनुदानमा खाद्यान्न (चामल) बिक्री गर्दै आएको नेपाल खाद्य संस्थान सेती अंचल कार्यालय धनगढीले यस वर्ष वार्षिक कोटाको एक चौथाई पनि खाद्यान्न ढुवानी गर्न सकेको छैन ।

चालू आर्थिक वर्षको साढे पाँच महिनासम्म २ हजार २ सय २१ क्वीन्टल ७० किलोमात्र चामल ढुवानी भएको छ । संस्थानले यस वर्ष सुदूरपश्चिमका पहाडी जिल्लासँगै सुर्खेत डिपोमा २८ हजार क्वीन्टल चालम ढुवानी गर्नु कोटा रहेको छ । गत वर्ष यो अवधिसम्म १४ हजार क्वीन्टल चामल ढुवानी गरिसकेको थियो । यसवर्ष डिजेल अभावका कारण एक चौथाई पनि खाद्यान्न ढुवानी गर्न नसकिएको खाद्य संस्थान सेती अञ्चल कार्यालय धनगढीका प्रमुख डिल्लीराज लम्सालले बताए ।

‘खाद्यान्न ढुवानी गर्ने सिजन यही हो । तर, डिजेल नपाउँदा लक्ष्य अनुसार खाद्यान्न ढुवानी गर्न सकिएको छैन ।’ संस्थान प्रमुख लम्सालले भने, ‘प्रशासनसँग समन्वय गरेर डिजेलको व्यवस्था गर्दै खाद्यान्न ढुवानी गर्दै आएका छौं ।’

नाकाबन्दीसँगै डिजेल अभाव भएपछि ढुवानी दर पनि बृद्धि भएपछि ‘ठेकेदारले पनि बाहना’ बनाउन थालेको प्रमुख लम्सालले बताए ।

बैतडीको पुर्चेकेहाटमा दुई हजार चार सय क्वीन्टल कोटा रहेपनि ठेकेदारले हालसम्म चामल ढुवानी गरेका छैनन् । ‘अहिले इन्धन अभावले ढुवानी दर बढेको छ । तर, संस्थानले पहिले नै सम्झौता गरेकाले दर बृद्धि गर्न मिल्दैन ।’, उनले भने, ‘चामल ढुवानी गर्दा बढी फाईदा नहुने देखिएपछि ठेकेदारले पनि खासै चाँसो दिएका छैनन् ।’ यद्यपी इन्धन सहज भएमा तोकिएको कोटा अनुसार चामल ढुवानी हुने संस्थान प्रमुख लम्सालले बताए ।

पुस १३ गतेसम्म बाजुराको कोल्टी डिपोमा एक हजार चार सय ६८ क्वीन्टल ५० किलो, बझाङको बिसौनामा दुई सय क्वीन्टल ४० किलो, दार्चुलाको सुनसेरामा एक सय ३२ क्वीन्टल ३० किलो र खण्डेश्वरीमा तीन सय क्वीन्टल ६० किलो तथा बैतडीको पुलाउ डिपोमा एक सय २० क्वीन्टल ३० किलो चालम ढुवानी भएको संस्थानका जिन्सी अधिकृत रणबहादुर ऐरीले जनाए । यो वर्ष कोल्टीमा सात हजार, बिसौनामा एक हजार पाँच सय, पुलाउमा २ हजार चार सय, सुनसेरा र बिसौनमा १५–१५ सय क्वीन्टल चामल ढुवानी गर्ने कोटा रहेको छ ।

बाजुराको मार्तडी, अछामको मंगलशेन र बैतडीको मेलौडी डिपोका लागि अर्झै ढुवानी सम्झौता हुन सकेको छ्रैन । टेण्डर आह्वान गरी सम्झौताका लागि संस्थाको केन्द्रमा फाईल पठाई सकिएको र केही दिनमा ठेक्का सम्झौता हुने लम्सालले बताए ।

सात–सात हजार क्वीन्टल कोटा रहेको मार्तडी र सुर्खेतको हालै मात्र ठेक्का सम्झौता भएपनि डिजेल अभावमा ढुवानी गर्न नसकिएको जिन्सी अधिकृत ऐरीले बताए ।

समयमै चामल ढुवानी गर्न नसकिए सुदूरपश्चिका पहाडी जिल्लाहरूमा खाद्यान्न संकट हुने देखिन्छ । सबै भन्दा बढी बाजुराको कोल्टी डिपोमा चालमको माग बढी हुने गर्दछ । संस्थान प्रमुख लम्सालले अहिले खाद्य डिपोहरूमा चालम पर्याप्त रहेको र इन्धनमा सहज भए चैतसम्म पनि ढुवानी गर्न सकिने बताए । अहिले खाद्य संस्थानको गोदाममा पाँच हजार क्वीन्टल चामल मौजदात रहेको छ । आवश्यकता परे राजापुर, विराटनगर क्षेत्रबाट चालम आयात गर्न सकिने उनले बताए ।

खाद्य संस्थानले अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी र सुर्खेतमा चामल ढुवानी गर्दै आएको छ ।

पहाडी जिल्लामा हालसम्म पनि सडक विस्तार हुन नसक्दा वर्षायाममा खाद्यान्न ढुवानी हुन नसकी वर्षेनी खाद्यान्न अभावमा भोकमरी हुने गरेको छ ।


  •  
  •  
  •