सात दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सुचारु

70
  •  
  •  
  •  

म्याग्दी, १६ असोज  पहिरोका करण सात दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक बुधबार रातिदेखि सुचारु भएको छ । एकसाता अगाडि सडकखण्डको रुप्से, दाना, काभ्रेभिरलगायत छ स्थानमा पहिरो जाँदा मुस्ताङ जाने र फर्कने यात्रुलाई सास्ती भएको थियो । पश्चिमाञ्चल सडक डिभिजन कार्यालय, म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समितिको पहलमा बुधबार रातिदेखि सडक सुचारु भएको म्याग्दी समितिका उपाध्यक्ष मोहन केसीले बताए ।
केसीका अनुसार तत्काल सडक मर्मतका लागि म्याग्दी समितिले  तीन लाख र मुस्ताङका स्याउ व्यापारीले  पाँच लाख लगानी गरेका थिए । सडक विभागले उक्त रकम पछि व्यहोर्ने भएको छ ।  सडक अवरुद्ध भएपछि सर्वसाधारण नारच्याङ गाविसको पहिरोथाप्ला हुँदै चार घण्टाको पैदलयात्रा गरी मुस्ताङ जान बाध्य थिए ।

सडक सुचारु भएपछि मुस्ताङबाट स्याउ बोकेका ट्रक म्याग्दीतर्फ आएका छन् ।
सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादित स्याउ बीचबाटोमै अलपत्र परेपछि बजारमा स्याउको मूल्य आकासिएको थियो ।  यसैबीच मुक्तिनाथ दर्शनका लागि आएका नागेन्द्र नाम गरेका एक भारतीय यात्रीको पैदलयात्राको क्रममा लडेर बुधबार मृत्यु भएको छ । उनको शव प्रहरी र स्थानीयले आफन्तलाई जिम्मा लगाएका छन् ।


  •  
  •  
  •