काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएको छ ।
सरकारका प्रवक्ता, सूचना सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरूङले आज पत्रकार सम्मेलनमा भने, ‘हालै सार्वजनिक ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन राजनीतिक र पूर्वाग्रहबाट प्रेरित तथा खोज अनुसन्धानविनै मनोगत धारणाबाट आएकोले सरकार अस्वीकार गर्दछ।’
यस्ता पूर्वाग्रहपूर्ण प्रतिवेदन सरकार र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीप्रति भ्रम छर्ने खालको भएकोले अस्वीकार गर्ने उनले बताएका छन्। उनले भने, ‘आधारविहीन र तथ्यहीन प्रतिवेदन आएको छ । आफैंमा विवादित छ। तीन करोड जनसंख्यामा एक हजार जनालाई टेलिफोनबाट जानकारी लिएको आधारमा प्रतिवेदन तयार पारिएको छ।’
सरकार विरोधीलाई सोधेर प्रतिवेदन तयार पारेको आरोपसमेत उनले लगाएका छन्।
खोज तथा अनुसन्धानविना र प्रमाणित नभएका तथ्यहीन प्रतिवेदन नियोजित ढंगबाट आएकोले सरकारले असहमति राखेको मन्त्री गुरूङले बताए। ‘
सरकारले गरेको समृद्धिको यात्रा अस्वीकार गर्ने, सरकारविरोधीले तयार पारेको प्रतिवेदन अस्वीकार गर्ने उनले बताए। प्रतिवेदन तयार पार्ने व्यक्ति राजनीतिक रूपमा चिनिएको मानिस भएकोले पनि सरकारले प्रतिवेदन अस्वीकार गरेको उनले बताए।