सवारीसाधनमा भाडा वृद्धि

65
  •  
  •  
  •  

काठमाडौं, १ कात्तिक ।
सरकारले सवारीसाधनको भाडामा कात्तिक १५ बाट लागु हुने गरि वृद्धि गरेको छ । भौतिक योजना तथा यातायात मन्त्रालय र व्यवसायी बीच भदौं १५ मै भाडा बढाउने सहमति भए पनि चाडपर्वलाई मध्यनजर गरेर दुई महिनापछि मात्र लागु गर्न लागेको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले कान्तिपुरलाई जानकारी दिए । इन्धनको मूल्य अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विक्रि हुने भनेर सरकारले घोषणा गरेको एक महिना बित्न नपाउदै सरकारले मूल्य वृद्धिलाई सार्वजनिक गरेको हो ।

सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बीच भएको सहमति अनुसार छोटा तथा लामो दुरीमा चल्ने सार्वजनिक यात्रुबहाक सवारीसाधनमा ५.६३ प्रतिशत वृद्धि गरिएको छ । यस्तै, मालबहाकमा भने काठमाडौं-पोखरा-नारायणगढ क्षेत्रसम्ममा ५.२७ प्रतिशत र तराई क्षेत्रमा ५.२१ प्रतिशत भाडा वृद्धि गरिएको हो । यस्तै, मिटर जडित ट्याक्सीको भाडामा ६.५८ प्रतिशतले वृद्धि गरिएको छ । लामो दुरीको भाडाको पूर्ण सुची १५ गते भित्रमा यातायात व्यवस्था अन्तरगतका विभिन्न कार्यालय, हरेक जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायमा भाडा सुचीको ‘बुकलेट’ बनाएर पठाइदिने महानिर्देशक दाहालले बताए ।

यस्तै, उपत्यका तथा शहरी क्षेत्रमा सञ्चालन हुने सवारीसाधन पनि ५.६३ प्रतिशतनै भाडाको दर बढेको छ । ४ किलो मिटरसम्ममा १५ बाट १६, ५ किलोमिटरसम्ममा भने १७ नै, ६ किलोमिटरसम्ममा भने १८ बाट १९, ८ किलो मिटरसम्ममा १९ बाट २०, १० किलो मिटरसम्ममा २१ बाट २२, १३ किलोमिटरसम्ममा २२ बाट २४, १६ किलोमिटरसम्ममा २५ बाट २६, १९ किलोमिटरसम्ममा २६ बाट २७ र १९ किलो मिटरमाथि २७ बाट २९ रूपैंयासम्म बढाइएको छ ।

‘हामीले सरकारले २०६५ सालबाट अपनाइएको वैज्ञानिक भाडा प्रणालीकै आधारमा वृद्धि गरेका छौं,’ दाहालले भने,’इन्धनको मूल्य बढेको बेलामा किन भाडा बढाईएको भन्ने प्रश्न उठ्छ । तर हामीले इन्धनको मात्र भएन, भाडा बढाउन अन्य विभिन्न सुचकलाई हेरेर यस्तो गरेका हौं ।’ उनले तलब, कर, ग्यारेज, इन्स्योरेन्स, बनाउने खर्च, ब्याट्री, तेल, इन्धन र ब्याज दरलाई आधार मानेर भाडा वृद्धि गरेको बताए ।

सरकारले पछिल्लो पटक २०६९ साल फागुन २५ मा मालबाहक र यात्रुबाहक सवारीसाधनको भाडा बृद्धि गरेको थियो ।

व्यवसायीहरूले इयर कन्डिसन (एसी) जडित सवारी र काठमाडौं बाहिर बिना मिटर सञ्चालन हुने सवारीका लागि छुट्टै भाडा हुने पर्ने माग गरेका थिए । ‘तर हामीले अहिले नै केही निर्णय गरेनौं,’ दाहालले भने,’थप अध्ययन गरेर त्यसको टुंगोमा पुग्ने छौं ।’

सरकार र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ बीच भएको सम्झौता अनुसार व्यवसायीहरूले हरेक सवारीसाधनमा भाडा दरलाई प्रस्ट रूपमा टाँस्ने, लामो दुरीमा दुई जना चालक राख्ने, दुर्घटना न्यूनिकरणमा विशेष ध्यान दिने, चालक र परिचालकले अनिवाय रूपमा परिचयपत्र भिर्ने, स्वच्छ र प्रतिस्पर्धात्मक रूपमा सवारी सञ्चालक गर्ने, तोकिएको भन्दा बढी यात्रु वा सामान नहाल्ने आदि छन् । यस्तै, व्यवसायी महासंघले विद्यार्थी, बृद्ध, अपाङ्ग छुट तथा विभिन्न आरक्षलाई लागु गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यार्थीलाई लामो दुरीमा २ जना र छोटो दुरीमा ४५ प्रतिशत छुट पाउदै आउदै आएका छन् ।

उपत्यका तथा सहरी क्षेत्रमा

किलोमिटर पहिले अहिले (रू)

४        १५              १६

५         १७              १७

६          १८            १९

८         १९             २०

१०      २१              २२

१३     २२             २४

१६     २५           २६

१९     २६              २७

१९   माथि   २७   २९
कान्तिपुरबाट


  •  
  •  
  •