एकवर्षभित्र संचालनमा आउला त ट्रमा सेन्टर ?

86
  •  
  •  
  •  

रक्षा रेग्मी
काठमाडौं १० भदौ (ओएनएस): बहुप्रतिक्षित राष्ट्रिय ट्रमा सेण्टर सञ्चालनमा आउन अझै समय लाग्ने भएको छ । २०६३ मा सञ्चालन गरिने भनिएको उक्त सेण्टरको सञ्चालन गर्न अझ १ बर्ष लाग्ने भएको छ ।   ट्रमा सेण्टर सञ्चालनको सवै तयारी पुरा भइसकेको ट्रमा सेण्टरको मेट्रोन नरदेवि वरियाले बताइन् ।

अस्पताल सञ्चालनका लागि आवश्यक सामग्री ल्याइसकेको उनले जानकारी दिइन् । वीर अस्पताल र सरकारको विवादका कारण रोकिएको थियो । ‘हामीसँग अस्पताल सञ्चालनका लागि पूर्वाधार छ , तर सेवा गर्ने दक्ष जनशक्ति छैनन्’ उनले भनिन् । दक्ष जनशक्तिको अभावले गर्दा अस्पताल सञ्चालनमा ढिलाइ भएको उनको गुनासो छ । ‘मन्त्रालयमा आवश्यक दक्ष जनशक्तिको लागि अस्थायी दरवन्दी पठाइसकेका छौ, उनले भनिन् तर स्वीकृत भएको छैन ।’

यता मन्त्रालयले भने अस्पतालबाट स्पष्ट रुपमा निणर्य नआएको बताएको छ । मन्त्रालयका प्रमुख अस्पताल प्रशासक डा. गुणराज लोहनीले ‘ट्रमा सेण्टरबाट स्पष्ट निणर्य नआएकोले त्यसबारे केही काम भएको छैन’ उनले भने । अस्पतालबाट अस्थायी दरवन्दीका लागि पत्र आएको भने लोहनीले स्वीकार गरे ।

हाललाई नर्स, प्याथोलोजिष्ट, रेडियोलोजिष्ट, ल्यावटेक्निसियनलगायत आवश्यक परेको छ । यता भारतीय राजदुतावासले जनशक्ति नपुगेको भन्दै  एयरपोर्टमा आइसकेको सामान अस्पताललाई उपलब्ध गराएको छैन् । भारतबाट अप्रेसनको सामग्री नआएकोले सरकारको पैसाले अप्रेसनको सामान किनेर एउटा अप्रेसन थिएटर चलाएको उनले जानकारी दिइन् । भारतीय सहयोगमा २ करोड लगानीमा निर्माण भएको ट्रमा सेण्टरमा २ सय ओटा शैय्या रहने छन् ।

सुरुमा ५० ओटा  शैय्या मात्र सञ्चालन गर्ने

सुरुमा दिवा सेवा मात्र सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिइन् । पछी सेवालाई बढाउदै लैजाने योजना छ उनले भनिन् । ट्रमा सेण्टरमा चोटपटक लागेका, हड्डी भाँचिएका, दैवि प्रकोपमा परेका विरामीको उपचार गरिने बताइएको छ । कुनै पनि दुर्घटना, प्राकृतिक विपत्ती तथा चोटपटकबाट घाइते हुनु ट्रमा हो । २०६३ सालदेखि सञ्चालनमा गरिने भनिएतापनी सरकार र वीर अस्पतालको विवादले सेण्टर सञ्चालनमा आउन सकेको थिएन ।

सरकारले पहिला राष्ट्रिय ट्रमा सेण्टरलाई वीर अस्पतालको मातहतमा सञ्चालन गर्ने भनेको थियो । तर ट्रमा सेण्टर सञ्चालनमा ढिलाइ हुने भएपछि सरकारले आफै सञ्चालन गर्ने निणर्य गरेको थियो । हाल विवाद साम्य भएको छ । २०६० सालमा नेपाल सरकार र भारत सरकारविच ट्रमा सेण्टर सञ्चालनको सम्झौता भएको थियो । सेण्टरमा हाल हप्तामा ३ दिन २ घण्टा ओपिडी सञ्चालन गरिदै आएको छ । हालसम्म २ सय भन्दा बढी विरामीको चेकअप गरिसकेको उनले बताइन् । सेण्टरमा प्लाष्टिक सर्जरी,न्युरो,अर्थोपेडिक,जनरल सर्जरी युरोलगायतको उपचार गरिन्छ ।


  •  
  •  
  •