काठमाडौं तालिम केन्द्रले दियो २० हजारलाई तालिम, ९५ प्रतिशत रोजगार

241
  •  
  •  
  •  

काठमाडौं, २ बैशाख (ओएनएस) : कञ्चनपुर जिल्लाको झलारी ४ का टुलुराम चौधरी ६ महिनादेखि सामाजिक परिचालनको तालिम लिइरहेका छन् । मुक्तकमैया परिवारका चौधरीले १५ महिने तालिम सकेर आफ्नै समुदायको सशक्तिकरण गर्ने योजना बनाएका छन् ।

उनी भन्छन्, ‘मुक्तकमैया परिवारको गरिबी कम गर्दै जीवनस्तर उकास्न सहजिकरण गर्न चाहन्छु । त्यहि भएर सामाजिक परिचालन सम्बन्धी १५ महिने तालिममा छु ।’ पढ्न नपाएका बालबालिकालाई विद्यालय पठाउने, सानै उमेरमा भारतका विभिन्न शहरमा जाने बालबालिकालाई रोक्ने उनको मुख्य उद्देश्य छ ।

‘मुक्त कमैयाको बस्तीमा पढेलेखेका थोरै छौं । अबको समयमा शिक्षा आवश्यक छ भनेर अभिभावकलाई मनाउनु मेरो पहिलो काम हुन्छ ।’ चौधरी भन्छन्, ‘समुदायमा कसरी घुलमिल हुने र बसरी उनीहरुका समस्या समाधान गर्ने भन्ने जानेको छु । तालिमपछि जागिर नपाए पनि आफ्नै गाउँको विकासका लागि काम गर्छु ।’

नेपालकै दुर्गम जिल्ला हुम्लाको मदना गाविस ६ की पारसा वैजी पनि सोही तालिममा सहभागी छिन् । समाजिक परिवर्तनका लागि योगदान दिने लक्ष्य लिएर राजधानी आएकी वैजी अबको ९ महिनापछि जिल्ला फर्किन्छिन् । भन्छिन्, ‘भोक, शोक, अभाव र विभिन्न समस्याबाट पीडित हुम्लामा महिला सशक्तिकरणका लागि काम गर्छु । मेरो प्राथमिकता जागिर हैन, क्षमता विकास हो । पाएँ भने जिल्लाभित्रै रोजगारी गरौंला नभए पनि महिला सशक्तिकरण मार्फत समाजको रुपान्तरणका लागि केहि गर्छु ।’

सिन्धुपाल्चोकको बाँसबारी ५ की कविता भट्टराई पनि तालिमपछि महिला सशक्तिकरण तथा बालबालिकाको क्षेत्रमा काम गर्न चाहन्छिन् । ६ महिनामा समाजमा घुलमिल भई समस्या पहिचान गर्दै समाधानका उपाय खोज्न सक्ने क्षमता बनेको उनको अनुभव छ । ‘समुदायमा रहेको विभेद घटाउन, महिलासहित पछाडी पारिएको समुदायको क्षमता विकासका लागि काम गर्छु ।’ उनी भन्छिन्, ‘तालिमपछि जिल्लामैं रोजगारी पाइएला भन्ने सोचेको छु । नभए पनि समुदायको जीवनस्तर सुधार्नका लागि सरोकारवाला निकायसँग समन्वय गर्छु र गाउँकै विकासका लागि सहजिकरण गर्छु ।’

चौधरी, वैजी, भट्टराईसहित ४० जनालाई सामाजिक परिचालन सम्बन्धी तालिमको व्यवस्थापन काठमाडौंको बालकुमारीमा रहेको काठमाडौं तालिम केन्द्रले गरेको छ । केन्द्रमा अहिले तेह्रौं समूहको तालिम चलिरहेको छ । यसअघि ५ सय जनाले सामाजिक परिचालन सम्बन्धी तालिम लिएकोमा ९५ प्रतिशतभन्दा बढीले रोजगारी पाइसकेका छन् ।

???????????????????????????????

समाजिक परिचालन सम्बन्धी तालिमका लागि सीटिइभिटीबाट सम्बन्धन पाएको छ । केन्द्र स्थापना भएको १३ वर्षको अवधिमा झण्डै २० हजार जनाले छोटो अवधिको सीपमुलक तालिम लिइसकेको कार्यकारी निर्देशक राजबहादुर गिरीले बताए । उनले भने, ‘सामाजिक परिचालन सम्बन्धी १५ महिनाको तालिम हुन्छ । १२ महिने सैद्धान्तिक तालिमपछि ३ महिना प्रयोगात्मक तालिम हुन्छ । हामीले सबै प्रशिक्षार्थीलाई तलब पाउने गरी ६ महिना काममा लगाइदिन्छौं ।’

सक्षम जनशक्ति दिगो सामाजिक विकासका लागि, प्रभावकारी तालिम सक्षम जनशक्ति उत्पादनका लागि भन्ने नाराका साथ २०५९ साल साउन ७ गते केन्द्र स्थापना भएको हो । निर्देशक गिरीका अनुसार तालिम लिइसकेपछि सरकारी, गैरसरकारी तथा सामाजिक संघसंस्थामा सामाजिक परिचालकको रुपमा काम गरेर मासिक औसतमा १३ हजार रुपैंयाँ आम्दानी गरिरहेका छन् ।

समाजिक परिचालन सम्बन्धीको तालिममा महिलाको सहभागिता उत्साहजनक छ । ७० प्रतिशत महिलाको सहभागिता रहेको उनले बताए । ‘सामाजिक परिचालन सम्बन्धी तालिममा पुरुषको सहभागिता ३० प्रतिशतको हाराहारीमा छ ।’ उनले भने, ‘सरकारी तथा गैरसरकारी निकायले पनि तालिम लिइसकेका व्यक्तिलाई पहिलो प्राथमिकता दिन्छन् । एक पटकमा ४० जनाको सीट हुन्छ त्यसमा झण्डै ४ गुणा आवेदन पर्छन् ।’

केन्द्रले प्रश्तावना तथा प्रतिवेदन लेखन, सहभागितामुलक अनुगमन तथा मुल्याङ्कन तालिम, नेतृत्व विकास, सहभागितामुलक ग्रामिण लेखाजोखा, प्रस्तुतिकरण तथा सहजिकरण सीप, सामुदायिक विकास तथा सामाजिक परिचालन, प्रशिक्षक प्रशिक्षण तालिम, उद्यमशीलता विकास लगायतका विषयमा छोटो अवधिको तालिम दिइरहेको छ ।

छोटो अवधिको तालिम सरकारी निकाय तथा गैरसरकारी संघ संस्थामा कार्यरत कर्मचारीलाई केन्द्रित गरिएको छ । ‘काम गरिरहेका जनशक्तिको क्षमता विकास गर्ने उद्देश्यले छोटो अवधिको सीपमुलक तालिम सञ्चालन गरिरहेका छौं । कतिपय अवस्थामा कर्मचारी र कतिपय अवस्थामा संस्थागत रुपमैं तालिमको माग भैरहेको छ ।’ निर्देशक राजबहादुर गिरी भन्छन्, ‘यस किसिमको तालिम समूहगत रुपमा सञ्चालन हुन्छ । माग अनुसार कार्यालयमैं गएर पनि तालिम दिन्छौं । त्यसले कर्मचारी र सिंगो संगठनकै क्षमता विकासमा सहयोग पुग्ने गरेको छ ।’

???????????????????????????????
काठमाडौं तालिम केन्द्रका प्रशिक्षार्थी बागमती सफाइ अभियानमा पूर्वप्रधानमन्त्री माधव नेपालसँग

केन्द्रले क्याम्पस तथा कलेज अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर प्रिसर्भिस तालिमसमेत सञ्चालन गरिरहेको गिरी बताउँछन् । सीटिइभिटीले तय गरेको पाठ्यक्रममा आधारित भएर सामाजिक परिचालन सम्बन्धी प्रशिक्षण दिइन्छ । तर १३ वर्षदेखि एउटै पाठ्यक्रमलाई प्रयोग गर्दा समयसापेक्ष नभएको हो की भन्ने गुनासो आइरहेको छ ।

जसका लागि पाठ्यक्रम परिमार्जन गर्नु पर्ने जरुरी देख्छन् निर्देशक गिरी भन्छन्, ‘हामी चाहन्छौं सीटिइभिटीले पाठ्यक्रमलाई समयसापेक्ष सुधार गरोस्, एलजिसिडिपीले हामीजस्ता केन्द्रसँग समन्वय गरेर जनशक्ति छनोट गरोस् । गैरसरकारी निकायले पनि तालिम प्राप्त जनशक्ति मात्रै परिचालन गर्नु पर्ने आवश्यकता मैंले देखेको छु ।’

केन्द्र बिस्तार गर्दै क्षेत्रीय स्तरमा पनि तालिम सञ्चालन गर्ने लक्ष्य रहे पनि नीतिगत कठिनाइका कारणले समस्या भएको निर्देशक गिरी बताउँछन् । यस किसिमको तालिमको कुरा सरकारले प्राथमिकतामा राख्नु पर्ने उनको भनाइ छ ।


  •  
  •  
  •