चन्द्रकान्त खनाल
रुपन्देही, २० वैशाख (ओएनएस) : बुटवल नगरपालिका २ बटौली वजारको एक हलुवाई परिवार तिन पुस्तादेखि निरन्तर जेरी पुरी र लड्डुको उत्पादन र विक्रिमा व्यस्त छ ।
उसको वाजेको पालाको आर्थिक अवस्थामा भने अझै सुधार आएको छैन ।
सिताराम हलुवाईले वि.सं १९९६ मा (७१ वर्ष अघि) वटौलीमा सानो घडेरी किनेर झुपडी बनाई उक्त व्यापार थालेका थिए । उनको ६५ वर्षको उमेरमा मृत्यु भयो । सोही झुपडीमा उनका छोरा ५३ वर्षिय गयाप्रसाद र नाति २८ वर्षिय आनन्दले निरन्तरता दिएका छन् ।
आनन्दका अनुसार न सितारामले बनाएको झुपडी फेरिएको छ न त उनले मैदा घोल्न प्रयोग गरेको भाँडो नै । दशकौँदेखि लगातारको प्रयोगले पित्तलको सो भाँडोको बिट तोडिएपनि उनिहरुले यस भाँडोलाई मुर्तिसरी सम्मानपूर्वक प्रयोग गरिरहेका छन् । सीतारामले बनाएको झुपडीमै नौ जनाको परिवार बसिरहेको र यस बाहेक अन्य सम्पत्ति नभएको आनन्दको भनाई छ । उनले भने–‘गरीवी नहटे पनि हामी खुसी छौँ, बाबु बाजेले गरेको यहि कामलाई निरन्तरता दिन्छु’ आनन्दले ९ कक्षा सम्म पढेको पनि बताए ।
यस्तै छोरी सिमाले विहान ४ वजेदेखि राति ११ वजेसम्म खट्ने बाबुआमाको दुखका दिन नगएको भनि धरधरी रूदै भनिन् ‘जे–जति गरेपनि सुख छैन तैपनि बाबुआमाले हामीलाई जे दिनुभएको छ, हामी खुसी छौँ’ सिमाले १० कक्षा सम्म पढेकी छन् ।
ग्राहक एवम राजनितिकर्मी राजु लिगल मिसावट नगरी स्वादिष्ट मिठाई बनाउने, सत्यवादी र पुख्र्याैली पेशा नछाडेकाले बटौलिका धेरैजसो मानिस ग्राहक भएको बताउँछन् ।
यस्तै अर्का ग्राहक एवम बुटवल माविका शिक्षक सोहोर अलिखान सत्यकाम गरे मोक्ष पाइन्छ गल्ती काम गरे अप्ठ्यारोमा परिन्छ भन्ने विश्वास र इश्वरले दिएकोमा सन्तुष्ट हुने गरेकाले भौतिक सम्पत्तिमा दुखि भएपनि हलुवाई परिवार सन्तुष्ट भएको बताउँछन् ।
हलुवाइले अहिलेसम्म पसलको नाम नराखे पनि मानिसहरुले बटौली बजारमा कसैको ठेगाना पत्ता लगाउन ‘जिलेवी पोल्ने ठाउँ’ भनेर उनको पसलको चिनो राख्छन् । हलुवाईको जेरी, पुरी, तरकारी, लड्डु, वर्फी, पेडा र रसवरी बटौली वजार मात्र नभई पुरै बुटवल नगरपालिका क्षेत्रमै परिचित छ ।