नेपाल भ्रमण वर्षलाई सफल पार्न सहयोगका लागि पर्यटनमन्त्रीकाे आग्रह

57
  •  
  •  
  •  

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् ।

मन्त्री भट्टराईले राजदूत र वैदशिक साझेदार संस्था प्रमुखहरुलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर सो आग्रह गरेका हुन् । उनले भने, ‘यो कार्यक्रम बाहिर होटल अथवा कुनै स्थानमा गर्न सकिन्थ्यो तर मन्त्रालयमै गर्दा सरकार—सरकारबीचको सम्बन्धलाई जोड्ने विश्वासको साथ मन्त्रालयमै गरिएको हो ।’ अब सरकारको विदेश सम्बन्धमा पर्यटन कुटनीति पनि महत्वपूर्ण पाटो रहने उनको भनाई छ ।

भ्रमण वर्ष–२०२० सफल पार्नमा नेपालस्थित राजदूतहरुको महत्वपूर्ण हुन भन्दै भट्टराईले भ्रमण वर्षको बारेमा विश्वभरी सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे ।

‘नेपाल भ्रमण वर्ष–२०२० को विषयमा यहाँहरुका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरुको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु । मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष—२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईको देशको नागरिकसम्म पनि प्रवाह गरीदिनुहोस् ।’

मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरुलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थीतिको लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिनु हुुँदै पर्यटनमन्त्रीहरुलाई उपस्थित गराइदिनका लागि पहलकदमीका अनुरोध समेत गरे ।

मन्त्री भट्टराईले नेपाल २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट बिस्तारै उठिरहेको उल्लेख गर्दै भने, ‘महाभुकम्पको पीडाबाट उठ्न गर्नु भएको सहयोगप्रति फेरि एक पटक आभार प्रकट गर्दछौं । अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँहरुको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौं ।’

मन्त्री भट्टराईले महाभूकम्पबाट भत्किएका नेपालका ८९१ सम्पदा मध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेको समेत बताए । बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाहरुको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको भन्दै साथ र सहयोगको आह्वान गरे ।

मन्त्री भट्टराईले अब आर्थिक र सामाजिक क्षेत्रको असमानतालाई अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामुलक समाज निर्माणको बाटोमा देशलाई अघि बढाइने बताए ।

‘आर्थिक तथा सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामुलक समाज निर्माण गर्नेछौं’ उनले भने, ‘यहीबाटोबाट हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको ‘सुखी नेपाली ः समृद्ध नेपाल’को सपना पुरा गर्नेछौं ।’

मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको जानकारी दिँदै १५ औं पञ्चवर्षीय योजना सम्पन्न हँुदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताए ।

मन्त्री भट्टराईले अहिल विदेशी पर्यटकहरुले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरीरहेको उल्लेख गर्दै अब ८० डलर खर्च गराउने र बार्षिक ३५ लाख पर्यटक नेपालमा भित्राउने लक्ष्य राखिएको जानकारी दिए ।

मन्त्री भट्टराईले आगामी २०२० मा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए ।
त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै लगानीको आवश्यक मोडलको बिषयमा लगानी बोर्डले काम गरीरहेको बताए ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राजदूतहरुलाई स्वागत गर्दैै विश्वभरी भ्रमण वर्ष–२०२०को प्रबद्र्धनका लागि अनुरोध गरे । नेपाल भ्रमण वर्ष–२०२०का संयोजक सुरज वैद्यले नेपालको पर्यकीय स्थलहरुको जानकारी, पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको तयारीको बारमो जानकारी दिए ।

‘सहयोगका लागि तयार छौं’

कार्यक्रममा सहभागी राजदूतहरुले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटनहरुमा चीन दोस्रो रहेको भन्दै नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिबद्धता जनाइन् ।

नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामाग्री उपलब्ध गराए ती सामाग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, अष्ट्रेलियाका राजदूत पिटर ग्रेम बड, जर्मनीका राजदुत रोलाण्ड साफर, जापानका राजदूत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवसीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडी लगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताए ।


  •  
  •  
  •