साउने मेलालाई पर्यटन उद्योगसँग जोडौं : मन्त्री आचार्य

264
  •  
  •  
  •  

चन्द्रकान्त खनाल
रुपन्देही, २४ साउन (ओएनएस) : संस्कृती मन्त्री भिम आचार्यले मुलुकका विभिन्न भागका शिवालय मन्दिरहरूमा यतिवेला संचालित साउने(श्रावणी) बोलबम मेलालाई सरकारले पर्यटन उद्योगसँग जोड्ने योजना बनाएको बताएका छन् ।
रुपन्देहीको सैनामैना नगरपालिका ५ स्थित ज्योतिर्लिङ्ग बोलबम धाममा संचालित श्रावणी मेलाको शनिवार अवलोकन कार्यक्रममा बोल्दै मन्त्री आचार्यले उक्त कुरा बताएका हुन् ।
मन्त्री आचार्यले भगवानको रुपमा मानेका महापुरुषहरूले आत्मिक सुखको खोजीमा हिमालय र गण्डकी(गंगा) क्षेत्रको पर्यटकको रुपमा भ्रमण गरेको बताउँदैे यो सनातन संस्कृतीलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले सांस्कृतिक धरोहरहरूको पर्यटकीय विकास गरी मानिसहरूको आर्थिक र सामाजिक विकाससँग जोड्नुपर्ने धारणा समेत राखेका छन् । विगतमा नेपालबाट भारतको झारखण्डस्थित वैद्यनाथ बाबाधाममा बोलबम श्रावणी मेला भर्न जाने चलन भएको चर्चा गर्र्दै यसले राष्ट्रिय सम्पत्ति विदेशिएको र टाढाको तिर्थयात्रामा जाँदा शारिरिक रुपमा कष्ट भएकोे पनि बताए ।

विगत तीनदशकदेखि धरानको पिण्डेश्वर र रुपन्देहीको यो पर्रोहा बोलबम धाममा संचालित श्रावणी मेलाको महिमा व्यापक रुपमा फैलिएकोले यहाँ भारतीय पर्यटकलाई आकर्षित गर्नुपर्ने धारणा समेत मन्त्री आचार्यले राखेका छन् । कार्यक्रममा बोल्दै पर्रोहा बोलबम धामका मुख्य संरक्षक आचार्य किशोरकुमार गौतमले छोटो समयममा यो धामको श्रावणी मेलाको महिमा देशविदेशमा फैलिएकोले यसको संरक्षण र विकासका लागी बनाइएको गुरुयोजनाका लागी रु.४० करोड रकम सहयोग गर्न मन्त्री आचार्यसँग माग राखे ।


  •  
  •  
  •