काठमाडौं, ५ कात्तिक (ओएनएस) : संसदको सार्वजनिक लेखा समितिले पर्यटन बोर्डका कामु कार्यकारी प्रमुख सुवास निरौलालाई निलम्वन गर्न निर्देशन दिएको छ । करोडौं रुपैयाँको अनियमिततामा प्रतयक्ष संलग्न देखिएको भन्दै बुधवार निरौलालाई निलम्वन गर्न पर्यटन मन्त्रायललाई निर्देशन दिएको हो ।
निरौलाले बोर्डमा सार्वजनिक खरिद कानुनको पालना नगर्ने, असम्बन्धित व्यक्तिलाई गैरकानुनी रुपमा भुक्तानी दिने, लेखाका विवरण सही र यथार्थ नराख्ने लगायतका क्रियाकलाप गरी आर्थिक कारोबारमा स्वच्छता, जवाफदेहिता, पारदर्शितामा र आर्थिक अनुशासनलगायतमा बेवास्ता गरेको समितिले ठहर गरेको छ ।
बैठकले अनियमितताका बारेमा छानविन गर्न गठित समिति र महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजुलाई आधार मानेर थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई दिने भएको छ ।
समितिले यससम्बन्धी कार्य प्रगति विवरण हरेक महिना समितिमा उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।
समितिले निरौलालाई तत्काल निलम्वन गरेर बोर्डको आवश्यक नियम संसोधन गरी खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुखमा योग्य, , नैतिकवान र उच्च चरित्र भएको व्यक्तिलाई तत्काल नियुुक्त गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।
नेपाल पर्यटन बोर्डको आर्थिक विनियमावली, २०७० ले कतिपय अधिकार कार्यकारी प्रमुखलाई असीमितरुपमा दिएको र उक्त विनियमावलीमा भएका व्यवस्थाहरु सार्वजनिक खरीद ऐन, ०६३ र नियमावली ०६४ का प्रावधानसँग उचित तालमेल मिलेको नदेखिएको समितिले ठहर गरेको छ ।
Comments are closed.