टोपबहादुर भन्छन् : ‘नेपालका कम्युनिष्ट खलनायक बनेर सकिन्छन्’

189
  •  
  •  
  •  

top-rayamajhiकाठमाडौ, ९ चैत (ओएनएस) : एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले नेपालका कम्युनिष्टहरु पहिला महानायक त्यसपछि नायक र अन्तमा खलनायक भएर सकिने गरेको भन्दै त्यसलाई अन्त्य नगरेसम्म पार्टी एकता असम्भव रहेको दाबी गरेका छन् ।

राजधानीमा सोमबार उनले नेपालमा कम्यूनिष्ट पार्टीहरु सिद्धान्त भन्दा पनि ब्यक्तिगत अहमता र स्वार्थका कारण फुटेको बताए । रायमाझी भने, ‘नेपालका कम्यूनिष्टहरु विचार र कार्यदिशाका कारण कम फुटेका छन । पहिला फुट्ने अनि पछि विचार र कार्यदिशामा फरक छुट्याउने परम्परा छ ।’

उनले माक्र्सबाद, लेनिनबाद र माओवादले अहिलेको सामाजिक अन्र्तविरोधलाई समाधान गर्न नसकेकोले अन्तर्राष्ट्रिय कम्यूनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा पुगेको भन्दै आजको अन्र्तविरोध र रणनीति बनाएर एकता गर्नु पर्ने तर्क गरे ।  कम्यूनिष्टहरुवीचको एकता अहिलेको आवश्यकता भएको भन्दै छ माओवादी विचारधारी पार्टीहरुवीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमै एकता हुने दाबी गरे ।

क्रान्तिकारी कम्यूनिष्ट पार्टीका महासचिव मणी थापाले मुलुकमा पछिल्लो परिवर्तन माओवादी धारले गरेको भए पनि त्यो आन्दोलन विघठन र विचलनमा परेकोले समस्या उत्पन्न भएको भन्दै प्रचण्डले त्यसलाई स्विकारेकोले आफूहरु प्रचण्डको नेतृत्वमा पार्टी एकता गर्न तयार भएको बताए । उनले भने, ‘प्रचण्डले गल्ती स्विकारेर परिवर्त सहित आएकोले प्रचण्डको नेतृत्व स्विकारेको हो । यो नै मुल धार हो ।’

नेकपा मालेका महासचिव सीपी मैनाललीले सत्ता र संख्याको फाईदाको निम्ती छ माओवादी पार्टीवीच एकताको कुरा उठेको दावी गर्दै सिद्धान्त निष्ठ भएर कुरा अघि बढाए मात्रै एकता हुनसक्ने बताए ।  पार्टी एकताको कुरा ठिकै भए पनि माओवादीहरुको आधार माक्र्स, लेनिन र माओवादीको धारा नै गलत भएको टिप्पणी गरे ।

नेकपा संयूक्तका अध्यक्ष चन्द्रबहादुर जोसीले पार्टी फुट किन भयो भन्ने कुराको जरा पत्ता नलगाई एकताको कुरा गर्नु हास्यास्पद भएको भन्दै १५० वर्ष अघि लेखेको माक्र्सबादको कुरा गर्दै यो समयको चेतना स्तर कहा पुग्यो भनेर हेर्नु पर्ने आवश्यकता औल्याए ।

उनले भने, ‘ अटोमेसनको यूगमा मजदुर बर्गको कुरा गरेर कतै पुग्न सकिदैन । अपरमिडिल क्लासको बाहुल्य रहेको कम्यूनिष्ट आन्दोलनले सिद्धान्तका विषयलाई लागु गर्न सक्दैन । गर्न सक्ने भए मनमोहन अधिकारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र झलनाथ खनाल प्रधानमन्त्री भएत खोई सर्वहारा वर्गको अधिनायकबाद लागु गर्न सकेको ?’


  •  
  •  
  •