१० बैंक पहिलो श्रेणीमा

463
  •  
  •  
  •  

काठमाडौं १३ मंसिर ।
बैंकको वित्तीय अवस्था झल्काउने विधि क्यामेल्सका आधारमा गरिएको अध्ययनअनुसार मुलुकका १० वाणिज्य बैंक प्रथम श्रेणीको सूचीमा परेका छन् । उनीहरूले सयमा ६० भन्दा बढी अंक पाएका हुन् । केन्द्रीय बैंकले समेतले संस्थाको अवस्था हेर्न तयार गर्ने क्यामल्समा समावेश हुने ६ मध्ये ४ सूचकलाई आधार मान्दा यो अवस्था देखिएको हो । मुलुकमा ३० वाणिज्य बैंक सञ्चालनमा छन् । जसअनुसार ३३ प्रतिशत वाणिज्य बैंकको उत्कृष्टको सूचीमा परेका हुन् । वाणिज्य बैंकहरूले प्रकाशित गरेर वित्तीय विवरणअनुसार पुँजी पर्याप्तता अनुपात, निष्क्रिय कर्जा, रिटर्न अन इक्विटी र तरलतालाई क्यामेल्स विधिअनुसार अंक दिँदा १० वटा बैंक पहिलो श्रेणीमा परेका हुन् ।

क्यामेल्स भने ६ वटा सूचकलाई हेरेर तयार गरिन्छ । यसलाई विश्वभरकै केन्द्रीय बैंकका वा नियमनकारी निकायले संस्थाको वित्तीय अवस्था अध्ययनका लागि प्रयोग गर्ने गर्छन् । ६ मध्ये बजार जोखिम र व्यवस्थापनसम्बन्धी अंक भने स्थलगत वाणिज्य बैंकको निरीक्षणपछि मात्र गर्न सकिन्छ । केन्द्रीय बैंकले यी दुई सूचकमा दिएको अंक गोप्य रहने र अन्यले निकाल्न नसक्ने हुँदा ४ सूचकलाई मात्र आधार बनाएर अध्ययन गरिएको हो ।

उपलब्ध तथ्यांकअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा उत्कृष्ट ८३ दशमलव ६६ अंक पाएको छ । ४ वटै आधारमा उत्कृष्ट अंक नपाए पनि औसत निकाल्दा भने स्ट्यान्डर्ड चार्टर्ड बैंक सबैभन्दा अघि देखिएको छ । ‘यो सही मूल्यांकन हो,’ स्ट्यान्डर्ड चार्टर्ड बैंकका एक्सटर्नल अफेयर्स प्रमुख दिवाकर पौडेलले भने, ‘अन्तर्राष्ट्रिय बैंक भएको नाताले सुशासन, अन्तर्राष्ट्रिय मापदण्ड र साखलाई हामीले उच्च प्राथमिकता दिने गरेका छौं ।’ सूचकमा देखिएको प्रदर्शनले सेवालाई सबल, सक्षम र प्रभावकारी बनाउन थप प्रोत्साहन पुग्ने उनले बताए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकपछि नेपाल एसबीआई, एभरेस्ट, इन्भेस्टमेन्ट र सानिमा बैंक उत्कृष्ट ५ मा परेका छन् । एसबीआई, एभरेस्ट र इन्भेस्टमेन्ट बैंकले ७० प्रतिशतभन्दा बढी अंक ल्याएका छन् । प्रमुख ५ मध्ये तीन वटा संयुक्त वैदेशिक लगानीमा सञ्चालित बैंक छन् ।

६८ दशमलव ०२ अंकसहित एनएमबी बैंक छैटौं स्थानमा छ । लुम्बिनी, बैंक अफ काठमाडौं, नबिल र हिमालयन बैंकले पनि ६० प्रतिशतभन्दा माथि अंक पाएका छन् । १४ वटा बैंकको अंक ५० देखि ६० को बीचमा छ । ४ बैंकको अंक ४० देखि ५० को बीचमा छ । घाटामा गएका किस्ट र ग्रान्डले सबैभन्दा कम अंक पाएका छन् ।

तथ्यांक तयार गर्दा पुँजी पर्याप्तता अनुपात २० प्रतिशत हुनेले सत प्रतिशत अंक पाउने गरी अध्ययन गरिएको छ । यो घटदै जाँदा अंक पनि कम हुँदै गएको हो । निष्क्रियय कर्जा अनुपात ० हुनेलाई सत प्रतिशत र ५ भन्दा माथि हुनेलाई शून्य अंक बाँडिएको हो । त्यस्तै रिटर्न अन इक्विटी ३० प्रतिशत वा माथि हुँदा पूर्ण अंक र शून्य हुँदा कुनै पनि अंक दिइएको छैन । कुल निक्षेपको ४० प्रतिशत वा बढी तरलता भएको संस्थालाई सय अंक र त्योभन्दा कमलाई सोहीअनुरूप अंक दिइएको छ । ४ वटै विधामा आएको अंकको औसतअनुसार श्रेणी दिइएको हो । क्यामेल्स रेटिङमा व्यवस्थापन र बजार जोखिमलाई पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।

‘अन्तर्राष्ट्रिय रूपमा बैंकको वित्तीय अवस्था हेर्नका लागि क्यामेल्स रेटिङ हेर्ने गरिन्छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘यसले कुन बैंकको स्थिति कस्तो छ भन्ने देखाउँछ ।’ क्यामेल्स रेटिङको सूचक स्थायी नहुने र समयसमयमा ठूलै परिवर्तन पनि आउन सक्ने राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए । ‘कर्जा बढदा पुँजी पर्याप्तता अनुपातमा असर पर्छ,’ उनले भने, ‘त्यस्तै अन्य सूचक पनि परिवर्तन भइरहन सक्छन् ।’

एक पटकको सूचकलाई स्थायी नतिजाका रूपमा हेर्न नमिल्ने उनले बताए । ‘कुनै महिना खराब देखिएको संस्था अर्को पटक राम्रो स्थानमा पनि पुग्ने गरेको छ,’ उनले भने । राष्ट्र बैंकले पनि आन्तरिक प्रयोजनका लागि क्यामेल्स रेटिङ गर्ने गरेको छ । जसलाई आधार बनाएर सम्बन्धित संस्थालाई सुधारको निर्देशन पनि दिने गरिएको छ । राष्ट्र बैंकले तयार गरेको यस्तो सूचकलाई सार्वजनिक भने गरिँदैन । केन्द्रीय बैंक अनुगमनमा संलग्न हुने भएकाले उसले तयार गरेको रेटिङ पूर्ण हुन्छ । जसमा व्यवस्थापन र साखलाई समेत राखिएको हुन्छ ।
कान्तिपुरबाट


  •  
  •  
  •