सभाध्यक्ष र शीर्ष नेताको छलफलले पनि निकालेन ठोस निश्कर्ष

190
  •  
  •  
  •  

4 leader with speaker
फाइल फोटाे

काठमाडौं, ४ चैत (ओएनएस) : सभाध्यक्ष सुवासचन्द्र नेम्बाङ र प्रमुख दलका शीर्ष नेताहरुको छलफल ठोस उपलब्धिबिना सकिएको छ ।

बुधबार सिंहदरबारमा भएको छलफलमा संविधान निर्माणको स्थगित प्रक्रियाबारे नेम्बाङले बोलाएको छलफलमा नेपाली कांगे्रस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले उपाध्यक्ष बामदेव गौतम, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागि थिए ।

छलफल नसकिदै प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला बाहिरिएका थिए भने एमाले अध्यक्ष केपी ओली पनि सहभागि थिएनन् । छलफलमा सभाध्यक्ष नेम्बाङले सकेसम्म चाडो सहमति गरेर संविधान निर्माणमा गम्भिर बन्न नेताहरुलाई आग्रह गरेका थिए ।

उनले दुई घण्टामा सहमति गछौं भन्ने दलहरुले महिना दिनसम्म संविधानसभाको बैठक स्थगित गर्दा पनि सहमति गर्न नसकेको कारण मागेका थिए । छलफलमा सत्तापक्ष कांग्रेस–एमालेका नेताहरुले सहमति हुन नसके प्रक्रियाबाट अघि बढ्नु पर्ने बताएका थिए । तर एमाओवादी अध्यक्ष प्रचण्डले सत्तापक्षले बहुमतको दम्भ त्याग्नु पर्ने धारणा राखेका थिए ।

दलहरुबीच दुरी बढ्दै गएपछि सहमतिका लागि अध्यक्ष नेम्बाङले पहल सुरु गरेका हुन् । यसअघि, नेम्बाङले मंगलबार प्रमुख दलका सचेतकहरुसँग छलफल गरेका थिए । मिति नतोकी आफूले अनिश्चितकालका लागि संविधानसभा स्थगित गर्नुको औचित्य दलहरूको पुष्टि गर्नुपर्ने नेम्बाङले बताउँदै आएका छन् ।

प्रश्नावली समिति गठनको निर्णयसँगै एमाओवादी गठबन्धनले संविधानसभा बैठक बहिष्कार गर्दै आएको छ । संविधानका विवादित विषयमा प्रश्नावली समितिले प्रतिवेदन पेस गरेपछि दलहरूबीच सहमतिका लागि माघ २९ देखि संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित हुँदै आएको छ ।


  •  
  •  
  •