सभाध्यक्ष नेम्बाङ भन्छन् : विषयमा सहमति गर्न नसके प्रक्रियामा सहमति गर्नुस्

170
  •  
  •  
  •  

Speakers with Top leaders
फाइल फोटो

काठमाडौं, ३० चैत (ओएनएस) : संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ र प्रमुख आठ राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । सभाध्यक्षको पहलमा संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा आठै दलका नेताहरुले आगामी बैसाख ६ गते अघि सहमति गर्न अधिकतम प्रयत्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

बैठकमा सभाध्यक्षले शीर्ष नेताहरुलाई संविधानसभाको आगामी ६ गतेको बैठकसम्ममा सहमति गर्न आग्रह गरेका थिए । सभाध्यक्षले एक वर्षमा संविधान जारी गर्ने र बाँकी ३ वर्ष विकास गर्छौ भन्ने दलहरुको बाचा स्मरण गराउँदै छिटो भन्दा छिटो सहमति गर्न आग्रह गरेका थिए । उनले अब संविधानसभाले सहमतिको नाममा धेरै कुर्न नसक्ने बताउँदै प्रक्रिया अघि बढाउने बताए ।

सभाध्यक्षको भनाई उद्धृत गर्दै एमाले नेता भीम रावलले भने, ‘आगामी ६ गतेसम्म सहमति गर्नुहोस्, विषयमा सहमति हुन सक्दैन भने प्रक्रिया अघि बढाउने विषयमा सहमति गरेपनि हुन्छ, तर अब संविधानसभाको प्रक्रिया अघि बढ्छ । ’

बैठकपछि रावलले पनि सबै दलका नेतहरुले ६ गते अघि सहमति गर्न अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाएको बताए । रावलले भने, ‘सबै नेताहरुले सहमति गर्न प्रतिबद्धता जनाउनुभयो, एमाले पनि सहमतिको नाममा अनन्तकालसम्म संविधानसभाले पर्खन नसक्नेमा स्पष्ट छ, सहमति नभए प्रक्रिया अघि बढाउनुपर्छ । ’

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, कांग्रेस उपसभापति रामचन्द्र पौडेल सहभागि थिए । एमालेका अध्यक्ष केपी ओली उपस्थित थिएनन् । एमालेको तर्फबाट नेता भीम रावल, अग्नी खरेल सहभागि थिए भने एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल बैठकमा सहभागि थिए ।

यस्तै राप्रपा नेपाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, राप्रपा र मधेसी जनाधिकार फोरम नेपालका नेताहरुले पनि बैठकमा भाग लिएका थिए ।


  •  
  •  
  •