राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र दलका शीर्ष नेता एउटै मञ्चमा

488
  •  
  •  
  •  

top leadersकाठमाडौ, ४ चैत(ओएनएस) : लामो समयपछि राष्ट्रपतिदेखि प्रमुख दलका शीर्ष नेताहरु एउटै मञ्चमा हुने भएका छन् । राष्ट्रपतिसहित कार्यपालीका, व्यवस्थापिका र न्यायापालिका प्रमुखहरु बिहिबार चितवन पुग्ने भएका छन् ।

नेपाल बार एशोसिएसनको तेह्रौं राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति रामबरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रधानन्यायाधीश रामकुमारप्रसाद साह, प्रमुख राजनीतिक दलका नेता चितवन जान लागेका हुन् ।

बिहान १० बजे चितवनको रत्ननगरमा सम्मेलनको राष्ट्रपतिले उद्घाटन गर्ने तय गरिएको छ । सम्मेलनमा विदेशी कुटनीतिक नियोगका प्रमुखहरुलाई पनि आमन्त्रण गरिएको नेपाल बार एसोसिएसनले जनाएको छ । महासचिव सुनील पोखरेलले राजनीतिक नेतृत्वलाई एकै ठाउँमा राखेर सम्वादको संकेत दिन खोजेको बताए ।

सत्तापक्ष र विपक्षी दलका प्रमुख नेताहरुलाई अनौपचारीक कुराकानी गर्ने मञ्चसमेत बन्ने उनले दाबी गरे । बारले सम्मेलनमा विभिन्न ९३ वटा कार्यपत्रमाथि छलफल गर्नेछ । नेपालको कानुन, मानवअधिकार, स्वतन्त्रता, संविधानसहितका विभिन्न विषयमा पेश हुने ९३ कार्यपत्रमा ५ वटा समिति बनाएर तीन दिनसम्म छलफल गर्ने पोखरेलले बताए ।

तीनदिनको छलफलपछि चितवन घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ । सम्मेलनमा करिव ३ हजार कानुन व्यवसायीको सहभागिता रहनेछ । एक जनाबाट २ हजार देखि साढे ८ हजारसम्म प्रवेश शुल्क उठाइएको छ ।


  •  
  •  
  •