बजेट अगाडि सरकार परिवर्तन हुन्न : उपप्रधानमन्त्री रायमाझी

163
  •  
  •  
  •  

भक्तपुर, २६ बैशाख(ओएनएस) : उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले बजेट आउनु अगाडि सरकार परिवर्तन नहुने बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा मन्त्री रायमाझीले सरकार बनाउने र ढाल्ने क्रम शुरु भएपनि बजेट आउनु अघिसम्म सरकार परिवर्तन नहुने बताएका हुन् । उनले नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी भईसकेको र सरकार परिवर्तनले सबै क्षेत्रलाई प्रभाव पार्ने भएकाले राजनीतिक समिकरणमा कुनै परिवर्तन नहुने बताए ।

उनले वर्तमान सरकार गिराउने र बनाउने भन्दापनि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको भन्दै बहुमतीय प्रणालीमा सरकार परिवर्तन भए उक्त सरकारले कुनै परिवर्तन गर्न नसक्ने धारणा व्यक्त गरेका छन् । उनले कांग्रेसलाई समेत समेटेर राष्ट्रिय सरकार निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । उनले सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेस सरकार परिवर्तनका लागि गरेको कसरत स्वाभाविक रहेको उनको भनाई छ ।

राष्ट्रपतिको भारत भ्रमण र राजदुत फिर्ता बोलाउने काम कुटनीतिक पहल भएको भन्दै उनले प्राकृतिक प्रकोप र नेपालको आन्तरिक राजनीतिका कारण भ्रमण रोकिएको टिप्पणी गरेका छन् ।

उनले सरकारलाई असफल भयो भन्नु गलत हुने बताउँदै सरकारले भुकम्प त्यसपछिको मधेश आन्दोलन र अघोषित नाकाबन्दीका कारण सोचअनुसार काम गर्न नसक्नुलाई सरकार असफल भयो भनि टिप्पणी गर्नु गलत हुने बताए ।

पछिल्लो समय एमाओवादी र बैद्य पक्ष बीचको एकताको कामले तिब्रता पाएको भन्दै अब छिट्टै नै दुई पार्टी एक हुने उनले दाबी गरेका छन् ।
उर्जाको प्रबर्धनमा नेपाल सरकार लागि परेको बताउँदै उनले नेपालीले भोग्नु परेको लोडसेडिङ अब छिटो भन्दा छिटो अन्त्य गर्न सरकार लागिपरेको बताए ।


  •  
  •  
  •