काठमाडौ/कात्तिक : चर्चित हलिवुड अभिनेता टम क्रुजले आफ्नो नयाँ चलचित्र ‘मिशन इमपोसिबल-५’ का लागि निकै खतरानाक स्टन्ट गरेका छन् । चलचित्रको द्धन्दको दृश्यका लागि उनले निकै खतरानाक स्टन्ट गरेका हुन् ।
दृश्यमा ५२ वर्षिय टम क्रुजले आफ्नो ज्यान जोखिममा पारेर स्टन्ट गरेका हुन् । उनले करिब ५ हजार फिटको उचाँईमा उडिरहेको एक सैनिक विमानको ढोकामा अडिएर चलचित्रको उक्त दृश्य पुरा गरेका हुन् । चलचित्रसँग जानकार राख्नेहरुले यसलाई अहिलेसम्मकै सबैभन्दा खतरानाक द्धन्दको स्टन्ट भएको बताएका छन् ।
चलचित्रको सुटिङ बेलायतको एक ग्रामिण क्षेत्रमा भइरहेको छ । समाचारहरुमा जनाइए अनुसार जुन विमानमा उनी झूण्डिएका छन्, त्यो विमान ४ वटा इन्जिन भएको A400M नामक एयरबस हो । दृश्यमा क्रुजले सुट लगाएर विमानको ढोकामा झूण्डिएका छन् । सुरक्षालाई मध्यनजर गर्दै उनले सेफ्टी बेल्ट प्रयोग गरेका छन्, तर यति उचाँईमा यस्ता द्धन्दका दृश्य आफै गरेर निकै चर्चामा आएका छन् । चलचित्र ‘मिसन इम्पोसिबल-५’ २०१५ मा रिलिज हुनेछ ।
मिशन इम्पोसिबल श्रृंखलाको चलचित्र द्धन्दका दृश्यका लागि निकै चर्चित छ । यी चलचित्रमा टम क्रुज इथन हन्ट नामका जासुसको भूमिकामा रहेका छन् । ‘मिशन इम्पोसिबल-४’ मा उनी विश्वका सबैभन्दा ठूलो भवन बुर्ज खालिफामा स्टन्ट गरिरहेको देखिएको थियो । ‘यो चलचित्र सन् २०११ मा रिलिज भएको थियो । चलचित्रले बक्स अफिसमा विश्वभर ७ सय मिलियन डलरभन्दा बढी कमाई गरेको थियो । टम क्रुजको द्धन्द प्रधान चलचित्र ‘नाईट एण्ड डे’ मा भारतीय चलचित्र ‘ब्याङ-ब्याङ’ निर्माण गरिएको छ जसमा ऋतिक रोशनले मुख्य भुमिका निभाएका छन् ।