काठमाडौँ, २४ फागुन(ओएनएस) : आज महाशिवरात्रि पर्व, हिन्दू धर्मालम्बीहरुले भब्य रुपमा मनाउँदै छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा महादेवको पूजा आराधना र रुद्राभिषेक गरी मनाईदै छ ।
विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा रहेको हो । मध्यरातमा चतुर्दशी परेका दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रमा उल्लेख छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रीमध्ये शिवरात्रि पनि एक हो ।
शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भनिन्छ । भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्री, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ ।
शिवका रुद्र, भैरव, महादेव, महेश्वर, शङ्करलगायत हजार नाम छन् । जसलाई शिव सहस्रनाम भनिन्छ । महाशिवरात्रिका दिन द्वादश ज्योतिर्लिङ्गको पनि शीर मानिने पशुपतिनाथमा दर्शनार्थीको भीड लाग्ने गर्छ । आज मुलुकभर रहेका शिवालयहरुमा भक्तजनहरु पूजा, रुद्राभिषेकसहित जल अर्पण गर्दैछन् ।
यसवर्ष पशुपति क्षेत्रमा गाँजा निषेध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिएको छ भने दर्शनार्थीलाई चार वटा लाइनबाट मन्दिरसम्म पुग्ने ब्यवस्था गरिएको छ । सयौंको संख्यामा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटाइएको छ ।