काठमाडौँ, २५ चैत(ओएनएस) : आज चैत कृष्ण औंसी अर्थात् घोडे जात्रा काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम मनाईंदै छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन जात्राका रुपमा महत्वका साथ हेरिन्छ ।
परम्परा मान्यता अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा चैत्र कृष्ण औंसीमा घोडा कुदाएर नयाँ वर्षलाई स्वागत गरिने प्रचलन छ । परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएकाले घोडजात्रा मनाइएको पनि धार्मिक मान्यता रहेको छ ।
नेपाली सेनाले टुंडिखेलमा घोडे जात्राको अवसरमा विशेष कार्यक्रम गर्ने गरेको छ । नेपाली सेनाले घोडाको प्रयोग गरेर बिभिन्न कला देखाउने गरिन्छ भने ललितपुरको पाटनमा आजैका दिन एक्लो घोडा दगुराएर घोडेजात्रा मनाइन्छ ।