प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनार्इँदै

304
  •  
  •  
  •  

shahid-gateकाठमाडौँ, ७ फागुन(ओएनएस) : आज ६६ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपालमा जारी १ सय ४ बर्षे जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

१०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गरेका थिए । राजा त्रिभुवनको घोषणा पछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । प्रजातन्त्रको स्थापनाका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिने छ भने देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ । प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीले शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन गरेमात्रै शहिदको सपना पुरा हुने बताएकी छन् । शुभकामना दिदै राष्ट्रपति भण्डारीले जनताको चाहना एवम् त्यागका कारण देशले प्राप्त गरेको संविधानको कुशल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् । अब आर्थिक सामाजिक समृद्धितर्फको यात्रा तय गरेर नै लोकतन्त्रको सुदृढीकरणका साथै प्रजातन्त्र दिवस तथा सहिदको उच्च कदर गर्नुपर्ने राष्ट्रपतिको भनाई छ ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि २००७ सालको जनआन्दोलन मार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले निरङ्कुश राणा जहानियाँ शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा अङ्कित रहेको बताएका छन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नेपालीलाई समान अधिकार प्रदान गरेको तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक सुनिश्चित गरेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आधुनिक नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताएका छन् ।

संविधानको कार्यान्वयनसँगै अब मुलुक आर्थिक/सामाजिक विकासको दिशामा अघि बढेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले संविधान जारी भएपछि यसका केही प्रावधानलाई लिएर प्रकट भएका असन्तुष्टि, असहमति र गुनासाको सम्बोधनका लागि वार्ता र संवाद भइरहेको र संविधानको पहिलो संशोधनबाट ती असन्तुष्टि आधारभूत रुपमा सम्बोधन भएको बताएका छन् । प्रधानमन्त्रीले कहीँ कतै केही असहमति वा गुनासा भए वार्ता र संवादकै माध्यमबाट सम्बोधन गर्न सकिने धारणा व्यक्त गरेका छन् ।


  •  
  •  
  •