स्वास्थ्यमन्त्रीलाई एक नेपाली नागरिकको सुझावसहितको अनुरोध

60
  •  
  •  
  •  

टेक नारायण कुँवर

अहिले नेपालका झण्डै १४ लाख जेष्ठ नागरिक कोभ्याक्स दोस्रो डोजको तिब्र प्रतिक्षामा छन्। नेपालले भारतको सेरम इन्ष्टिच्युटसँग खरिद सम्झौता गरी रकम भुक्तानी समेत भइसकेको भनिएको उक्त खोप सतहमा बुझिएअनुसार मूलतः दुइ कारणले रोकिएको भन्ने देखिन्छ।

पहिलो, भारत आफैँमा महामारीले आक्रान्त बनेको र त्यहीका करोडौं जनताले पर्याप्त खोप पाइ नसकेको अवस्था, र दोस्रो, आफ्ना नागरिकलाई नै लगाइ नसकेसम्म भारतीय अदालतको आदेशले मुलुक बाहिर बिक्री तथा निकासीमा रोक लगाएको अवस्था।

यता नेपालमा पहिलो मात्रा लगाएका जेष्ठ नागरिक लगायतले तोकिएको समयमा दोस्रो मात्रा लगाउन नपाएमा पहिलो मात्राको प्रभावकारिता पनि न्यून हुँदै जाने र खोपको आशामा बसेका नागरिकहरुमा पर्ने नकारात्मक मनोवैज्ञानिक असरले पार्न सक्ने प्रभाव र कोभिडको जोखिम पनि बहुतै संवेदनशील छ।

यस अवस्थामा खोपसँग सम्बन्धित हालसम्म सरकारले गरेका सबै प्रयासहरु सराहनीय हुँदाहुँदै पनि १४ लाख नागरिकको कोभ्याक्स दोस्रो मात्राको अपरिहार्य आवश्यकतालाई सम्बोधन गर्न छुट्टै विशेष सक्रियता आवश्यक देखिन्छ।

कतिपय समस्याको समाधानमा राज्य वा सरकारको स्वीकार्य नीतिगत पहलहरु हुने भएतापनि लिडरसीपको व्यक्तिगत अभिरुची, कुटनीतिक ज्ञान, सीप, खुबी, क्षमता, तत्परता र सिर्जनात्मक सोचको भरपुर उपयोगले मात्र सफलताको शिखरमा लैजान्छ। भर्खरै नयाँ स्वास्थ्य मन्त्रीले कार्यभार लिनुभएको छ।

माननीय मन्त्रीज्यूको स्पष्टवादिता, सकारात्मक सोच र केही गरुँ भन्ने सोच सहितको नेतृत्वगुण हेर्दा उहाँले कोभिड महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने विश्वव्यापी मापदण्ड अनुसारका विधि विधान लगायत सम्पूर्ण नेपाली नागरिकलाई खोप उपलब्ध गराइ सुरक्षित स्वास्थ्यको अधिकार प्रत्याभूत गर्न केन्द्रित गर्नु हुने नै छ भन्ने आशा र भरोसा सबै नागरिकले गरेका छन्। छोटो समय कानून मन्त्रीको हैसियतले काम गर्दा उहाँले न्याय क्षेत्रमा दिन खोजेको सुधारको संकेत बजोड र प्रभावकरी देखिन लाग्दै थियो।

दुर्भाग्यवस वहाँले सो पदमा पूरा समय रहने अवसरबाट बञ्चित हुनुभयो। अब स्वाथ्यमन्त्रीको जिम्मेवारीमा रहेर अहिलेको जटिल परिस्थितिमा आफूलाई अब्बल सावित गर्ने महान अवसर पाउनुभएको छ। कुनै पनि मानिसको कार्यक्षमताको सही परीक्षण जटिल तथा असहज परिस्थितिमा नै हुन्छ। त्यसैले प्रतिकूलतालाई अनुकूलतामा रुपान्तरण गर्नेहरु नै सबभन्दा बढी सफल नायक मानिन्छन्।

परिणाममुखी एवम सफल वार्ता र गहन कुटनीतिमा अर्को पक्षलाई प्रभावमा लिने सार्वभौमिक सिद्धान्तहरू छन्। तिनको उत्तम गुण यो हो कि तिनीहरू वैज्ञानिक तवरमा आधारित छन्। अहिले माननीय मन्त्रीज्बाट यिनै सिद्धान्तहरुको सफल प्रयोग सर्वथा अपेक्षित छ। ती उपायको रुपमा संसारमा प्रयोग भइ आएका बहुसंख्यक सिद्धान्तहरुमध्ये “6 shortcut” सिद्धान्तको नामले प्रचलित “Science of Persuasion” देहाय बमोजिम छन्:

1. RECIPROCITY

2. SCARCITY

3. AUTHORITY

4. CONSISTENCY

5. LINKING

6. CONSENSUS

माथि उल्लिखित सिद्धान्तलाई उपयोग गर्दै कोभिड नियन्त्रणको समग्र समस्या हल गर्न पहल लिनु आवश्यक छ। यस अन्तर्गत माननीय मन्त्रीज्यूको प्राथमिकताभित्र तत्काल १४ लाख नागरिकको दोस्रो मात्रालाई विशेष जोड दिइ कोभ्याक्स भित्र्याउन आफैले प्रभावकारी पहल गर्न केही सुझावहरु प्रस्तुत गर्दछु।

१. नेपाल सरकारको निर्णयबाट मन्त्रीजूले दिल्ली स्थित नेपाली दूतावस मार्फत भारतीय समकक्षीसँग सिघ्रातिसिघ्र भेटघाटको समय मिलाई दिल्ली भ्रमण गर्ने।

२. माथि उल्लिखित सिद्धान्तहरुको प्रकाशमा भारत सरकारका समकक्षी मन्त्रीसंग आफै कुरा राखी नेपालको बाध्यात्मक अवस्था कन्भिन्स गराउने।

३. भारतको करिब डेढ अर्ब जनसंख्याको तुलनामा १४ लाख दोस्रो डोज समुद्रमा शितको थोपाजस्तै हो भने यो मात्रा नेपालको लागि अतुलनिय सहयोग हुने कुराको विश्वास दिलाउने।

४. भारतीय समकक्षी मार्फत भारत सरकारबाट यस विषयमा नेपालको लागि विशेष निर्णय गराउने।

५. भारतको सर्वोच्च वा अन्य अदालतले निकासीमा रोक लगाएकोमा भारत सरकारसंगको वार्ताका क्रममा समन्वय गरी विषयवस्तुको गम्भीरता बोध गराइ अदालतमा नेपाल सरकारको तर्फबाट निवेदन गर्नुपर्ने भए सो समेत गरी खरिद भैसकेको खोपको निकासीमा अदालतबाट फुकुवा लिने।

६. यो कार्य करिब हप्तादिनभित्रैको समय अवधिमा गर्ने गराउने लक्ष्यकासाथ अघि बढ्ने।

७. खोप नपाएका सम्पूर्ण नेपालीहरुको स्वास्थ्य रक्षाको लागि भारत लगायत अन्य मुलुकबाट समेत थप खोप खरिद र उपलब्धताको अपरिवर्तनीय समयसिमाको ग्यारेण्टी गर्ने र नेपाली नागरिकहरुलाई सुसूचित गर्ने।


  •  
  •  
  •