काठमाडौं, १६ भदौ(ओएनएस) : कैलाली जिल्लाको टीकापुरमा भएको घटनामा मृत्यु भएका दुईजना सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई आर्थिक सहयोग तथा एक/एक सन्ततिलाई छात्रवृत्तिको व्यवस्था गरेको छ ।
घटनामा परेका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले एक/एक लाख रूपैयाँ नगद प्रदान गरेको छ । सो रकम सशस्त्र प्रहरी बल उग्रतारा गण टिकापुर कैलाली मार्फत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार स्वर्गीय ललितबहादुर साउदको परिवारलाई तथा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बर्दिया मार्फत सशस्त्र प्रहरी हवल्दार स्वर्गिय रामविहारी थारुको परिवारलाई बुझाइएको छ ।
यसैगरी मृतक सशस्त्र प्रहरीका एक/एक जना सन्ततीलाई सशस्त्र प्रहरी परिवार महिला संघले उनीहरुको अभिभावकको स्वीकृती भएमा काठमाडौं ल्याई आवाशीय सुविधासहित १२ कक्षासम्म अध्ययनको व्यवस्था मिलाउने भएको छ ।
घटनामा प्रदर्शनकारीले प्रहार गरेको गोलीबाट सशस्त्र प्रहरी सहायक हवल्दार नेत्रबहादुर साउदको करीब डेढ वर्षिय छोरा टेकबहादुर साउदको समेत मृत्यु भएको थियो । उनलाई समेत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
कल्याणकारी सेवा केन्द्रद्वारा यसअघि मृतक दुवैजना सशस्त्र प्रहरी कर्मचारीको किरीया खर्चवापत तत्कालै उनीहरुका परिवारलाई तीस/तीस हजार रुपैया प्रदान गरेको थियो । किरीया खर्चवापतको रकम सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अन्तर्गत व्यवस्था रहेको छ । बलको कल्याणकारी योजना अन्तर्गत निर्जिवन दुर्घटना विमावापत चार लाख रुपैयाँ तथा सेवा अवधिभरको प्रत्येक वर्षको लागि वार्षिक दुई हजार रुपैयाँका दरले रकम प्रदान गरिनेछ । यसैगरी मृतक सशस्त्र प्रहरी कर्मचारीको क्लोदिङ वापत जम्मा भएको रकम समेत प्रदान गरिनेछ ।
यसैगरी ड्युटीको सिलसिलामा मृत्यु भएका दुवै सशस्त्र प्रहरी कर्मचारीको नजिकको हकदारलाई कर्मचारी संचयकोषबाट नियमानुसार जम्मा भएको संचित रकमको अतिरिक्त कल्याणकारी योजना अन्तर्गतको विमा रकम ५० हजार तथा किरिया खर्चवापतको रकम २५ हजार र दुर्घटना क्षतिपुर्ती वापतको रकम ५० हजार समेत पाउने छन् ।
यसैगरी विशेष ड्युटीमा खटिएको वेला मृत्युहुने सशस्त्र प्रहरी कर्मचारीलाई मरणोपरान्त एक तह पदोन्नती गरी सोही पद अनुसारको पुरा तलव निजको परिवारलाई त्यस्तो सशस्त्र प्रहरी कर्मचारीको उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढिमा सात वर्षसम्म दिइने व्यवस्था समेत सो नियमावलीले गरेको छ । सात वर्ष अवधि व्यतित भई सकेपछि मृतक सशस्त्र प्रहरीको सेवा अवधि निवृत्तीमरण अवधि पाक्नेभन्दा कम भएमा निवृत्तिभरण पाकेको अवधि सरह र निवृत्तिभरण पाक्ने अवधिभन्दा बढि सेवा अवधि भएमा सोही बमोजिम मृतक सशस्त्र प्रहरीको परिवारले निवृत्तिभरण पाउने छ ।