ग्रामीण बस्तीमा बाघको आतंक

218
  •  
  •  
  •  

452456-001काभ्रे, ११ फागुन(ओएनएस) : सदरमुकाम धुलिखेलबाट करिब ७० कि. मि. को दुरीमा पर्ने जिल्लाको विकट क्षेत्र डाँडापारीस्थित डाँडागाउँमा बाघले आतंक मच्चाएको छ ।

प्रशासन अनि सुरक्षाको दृष्टिकोणले समेत धेरै टाढा रहेको डाँडागाउँ गाविसको वडा नं. ४ स्थित धनमना गाउँमा बाघले आतंक मच्चाएको हो । धनमनाबाट डाँडागाउँ उपस्वास्थ्य चौकीमा कार्यरत हिरामायाँ घिसिङले दिएको जानकारी अनुसार बाघको बिगबिगीका कारण स्थानीयको ज्यानको जोखिम समेत बढेको छ ।

हालै मात्र बाघले स्थानीय ज्ञान बहादुर घिसिङको १० वटा बाख्रा खाएको बताइएको छ । खोरभित्र रहेको १० वटा बाख्रा बाघले खाएको हो । जसमध्ये १ वटा पूरै खाएको थियो भने बाँकी ९ वटाको रगत मात्रै चुसेर मृत अवस्थामा फालेर राखेको थियो ।

त्यसैगरी, केही दिन अघि स्थानीय चन्द्र बहादुर घिसिङको ५ वटा बाख्रा खाएको थियो । स्थानीयले बाघ नियन्त्रणका लागि हरेक प्रयास गरे पनि सम्भव हुन सकेको छैन । यसैगरी स्थानीय बाबुराम घिसिङको  एक वटा गोरू खाएको छ । यसरी बाघले पशुहरू खाइरहँदा पनि स्थानीयले केही उपाय निकाल्न सकेको छैन ।

प्रहरी प्रशासनले समेत बाघ नियन्त्रणको पहल गर्ने अवस्था देखिदैँन । प्रहरी प्रशासन (प्रहरी चौकी) त्यहाँबाट करिब ५ घण्टाको दुरीमा रहेकाले प्रहरीको साथ पाउनेमा स्थानीयहरू आशावादी छैनन् । स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार तीनवटा बाघले सो क्षेत्रमा आतंक मच्चाइरहेको छ । तीनवटा बाघ दिउँसै बस्ती–बस्तीमा हिड्न थालेपछि स्थानीय बासिन्दाहरू एक दुई जना हिड्न समेत समस्या परेको छ । झन् सो क्षेत्रमा बनाइने खुवा भरियाको लागि निकै समस्या परेको बताइएको छ । सदरमुकाममा खुवा बोकेर ल्याउँदै आएका भरियाहरुलाई एक्ला एक्लै हिड्न समस्या परेको हो ।

स्थानीय बुद्धिजीवीहरुको अनुसार २०१३ सालमा पनि सो क्षेत्रमा बाघले आतंक मच्चाएको थियो । सो बेला बाघले २ जना मान्छे समेत खाएको थियो । उनीहरुको अनुसार आजभन्दा १० वर्ष अघि पनि सो क्षेत्रमा बाघले आतंक मच्चाएको थियो । यसरी जिल्लाको ग्रामीण बस्तीमा बाघले आतंक मच्चाइरहँदा पनि जिल्ला प्रशासन भने बेखबर रहेका छन् ।


  •  
  •  
  •