टर्किस विमान हटाइएपछि उडान सूचारू

121
  •  
  •  
  •  

काठमाडौ, २३ फागुन(ओएनएस) : धावनमार्गबाट नजिकै विमान भासिएपछि चार दिनदेखी अवरूद्ध रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आजबाट सुचारू भएको छ । टर्किस एयरलाइन्सको विमान दुर्घटनास्थलबाट हटाइएपछि आज साढे ७ बजेदेखी त्रिभुवन विमानस्थल उडानका लागि योग्य भएको हो ।

टर्किस विमानलाई एक किलोमिटर टाढाको ‘डोमेस्टिक एप्रोन’मा लगिएको छ । ‘रन-वे’मा लैजान नसकिएको उक्त विमान रन-वेमा लैजानका लागि शनिबार हेलिकप्टर चार्टर गरेर ७ जना प्राविधिकहरू झिकाइएको थियो ।

‘रन-वे’ मा रहेको फोहोरहरू सफा गरेपछि र बिग्रिएका ठाऊँहरू मर्मत गरेपछि साढे ७ बजेदेखी उडान सुचारू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक पूर्ण चुँडालले ओएनएसलाई जनाएका छन् । सुरूमा नेपाल एयरलाइन्सको दुई ठूला जहाज एयरबस र बोइङले उडान भरेपछि अन्य जहाजले उडान गरेका छन् ।

विमास्थलमा उडान सुरू भएको खबर पाएलगत्तै यात्रुहरूको भीड निकै बढेको छ । त्रिभुवन विमानस्थलमा यात्रुहरूको आवतजावत ह्वात्तै बढेको छ ।

चार दिनदेखी अवरूद्ध विमानस्थल खुलेपछि चौबिसै घण्टा सञ्चालन गर्ने तयारीमा विमानस्थल कार्यालय जुटेको छ । विमानस्थलमा यात्रुको चापलाई व्यवस्थित गर्न चौबिसै घण्टा उडान-अवतरणको व्यवस्था मिलाउन लागिएको प्रबन्धक चुँडालले बताएका छन् । उनले सहज नभएसम्म विमानस्थल चौबिसै घण्टा खुल्ला गरिने बताए । आगामी बुधबार बिहानसम्म चौबिसै घण्टा विमानस्थल संचालन गरिने विमानस्थल ब्यवस्थापनले जनाएको छ ।

टर्किस एयरले भोलिदेखि आफ्नो नियमित उडान गर्ने भएको छ । तालिकाअनुसार भोली बिहान साढे ६ बजे टर्किसको नयाँ विमान त्रिभुवन विमानस्थल आइपुग्ने छ ।


  •  
  •  
  •