मानव तस्करीको आशंकामा अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच युवती अध्यागमनको नियन्त्रणमा

357
  •  
  •  
  •  

human trafficking1काठमाडौं, २८ पुस (ओएनएस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले सेटिङ मिलाएर नयाँ दिल्ली हुँदै कोलम्बो उड्न लागेका पाँच युवतीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । आज बिहान ८ बजेको नेपाल वायुसेवा निगमको आरए–२०५ नम्बरको उडानबाट उनीहरू जान लागेका थिए ।

उनीहरू अध्यागमनमा नागरिकता र दिल्लीसम्मको मात्र बोर्डिङ पास देखाएर कोलम्बो उड्न लागेका थिए । त्यसमध्ये एक युवतीले कोलम्बोसम्मकै बोर्डिङ पास देखाएपछि अध्यागमन अधिकृतले शंका लागी थप सोधपुछ गरेका थिए । त्यस क्रममा अरू सबैजनासँग पासपोर्ट र कोलम्बोसम्मकै बोर्डिङ पास भेटिएको थियो ।

भारत जानका लागि नेपालीहरुले पासपोर्ट बोक्नुपर्दैन । श्रीलंकामा अन अराइभल भिसाको व्यवस्था भएकाले नेपालमा भिसा पनि जाँच गर्नुपर्दैन । त्यसैले श्रीलंकालाई ट्रान्जिट बनाएर मानव तस्करीका अन्य गन्तव्यहरूमा पुर्याउने गिरोह अहिले सक्रिय छ ।

तीमध्ये केहीलाई भारतीय प्रहरीले दिल्लीमा पक्राउ समेत गरेको थियो । दिल्लीमा कडाइ गरेको सुइँको पाएपछि श्रीलंका हुँदै अन्य मुलुकमा उडाउन खोजिएको हुन सक्ने आशंका अध्यागमन अधिकारीहरूले गरेका छन् ।

human traffickingवरिष्ठ अध्यागमन अधिकृत उद्वव थापाको नेतृत्वमा गरिएको प्रारम्भिक अनुसन्धानबाट उनीहरूको यात्रा शंकास्पद फेला परेको थियो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख कृष्ण राउतका अनुसार, शंकास्पद रूपमा कोलम्बो जान लागेको हुनाले मानव तस्करीको आशंका गरी आवश्यक छानबिनका लागि ६ जनालाई नै अध्यागमन विभाग पठाइएको छ ।

सुरुमा नयाँ दिल्लीमा घुम्न लान लागेको बताएर विमानमा चढ्न लागेका उनीहरूले पछि सोधपुछको क्रममा कोलम्बोमा क्यासिनोमा काम गर्न जान लागेको बताएका थिए । उनीहरूमध्ये धेरैजसो पटकपटक कोलम्बो, कम्बोडिया लगायत मुलुक गइसकेको पासपोर्ट र भिसा रेकर्डले देखाएको अध्यागमन अधिकारीहरूको भनाइ छ ।

तीनजना काठमाडौँ, एकजना नुवाकोट, एकजना काभ्रे र एकजना उदयपुरका रहेका छन् । उनीहरू २५ देखि ३७ वर्ष उमेर समूहका छन् ।


  •  
  •  
  •