ठूलो मान्छे

260
  •  
  •  
  •  

हजुर, ऊ त ठूलो मान्छे रे
नमस्ते नपाई कसैसँग बोल्दैन
काम नभए नि व्यस्त देखिन्छ
अलि चासो र चिन्तनको कुरो उठ्यो भने
मोबाईलमा व्यस्त देखिन्छ ।
फोन आइरहेरै हो कि, के हो ?
जतिखेर पनि कानमा मोबाईल टाँसेको टाँसेई देखिन्छ

स्थिर घिमिरे

मलाई त शंका लाग्छ
कतै उस्ले व्यस्त भएको भान त परेको हैन ?
उसको हाउ भाउ र शैली हेर्दा
उ साह्रै ब्यस्त देखिन्छ ।
नजाने पनि जाने जस्तो
नखाए नि खाए जस्तो, गमक्क परेको
परिवेश अनुसार रंग फेर्ने छेपारो जस्तो
बुझ्नै नसकिने कस्तो कस्तो
अल्वर्ट आइन्स्टाइनको सिद्धान्त जस्तो

सिधा–साधा लाई हेप्छ, अगतिलो ठान्छ
आफु भन्दा माथिकोलाई भगवान मान्छ
धुप दिप र नैबेध चढाउँछ
पर्‍यो भने पाऊ समेत समाउँछ
दुई हात जोड्छ, जोडी रहन्छ
प्रायः कमिसन र घुसको दाउ चाँहि हानी रहन्छ

कुरो ले ठिक्क तर ब्यबहारमा
इमान्दारिता हराए जस्तो
तर आफु भन्दा उप्पलो हैसियतको मान्छे देख्दा
गडुरको छायामा परेको सर्प जस्तो
त्यसैले त होला, जे भने पनि सिरोपर गर्छ
मात्र २ टा शब्दमा

हस् अनि हजुर भन्छ, धेरै बोल्दैन
बाहिर तिर जान पर्‍यो भने
श्रीमतीले कोट हातैमा राखिदिन्छिन्
सहयोगीले जुत्ता ल्याई दिन्छन्
ड्राइभरले गाडीको ढोका खोलिदिन्छन्
आफैं अगाडिको टि–पोर्टबाट
कपमा चिया खन्याउन पनि
घरको कामदार बोलाउँछ
त्यसैले त त्यो देखेर

पल्लो घरमा डेरामा बस्ने एक बालकले
उसको कृयाकलाप देखेर अचम्म मान्दै सोध्छ
हैन ति अंकल अपाङ्ग हुन् र ? भन्दा
मैले उत्तर दिनै पर्ने भो र, दिए
हैट ! कहाँ त्यस्तो भन्या बाबु
ति त ठूला मान्छे हुन्, ठूला मान्छे
हाम्रा ठूला मान्छे हरु त्यस्तै हुन्छन् भन्दिए र

(घिमिरे चिति साहित्य समाज लमजुङका अध्यक्ष हुन् ।)


  •  
  •  
  •