मोदीको भ्रमण सफल बनाउने तीन दलबीच सहमति

213
  •  
  •  
  •  

काठमाडौं, १२ साउन (ओएनएस) : प्रमुख तीन ठूला दलका शिर्ष नेताहरुवीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई सफल र विवादरहित बनाउने विषयमा सहमति भएको छ ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली काग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्षनेताहरुको बैठकले विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण विवादरहित र सफल भएका निष्कर्स निकाल्दै मोदीको भ्रमणलाई पनि त्यस्तो बनाउने सहमति गरेको हो ।

बैठकले सरकारलाई भोली अपरान्ह ५ बजेसम्म भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा हुने सम्झौता लगायतका विषयमा आवश्यक प्रस्ताव तय गरी छलफलका लागि पेश गर्न निर्देशन दिएको छ । सरकारले कुन कुन सम्झौता हुने र त्यसमा के कस्ता विषयबस्तु रहने भन्ने विषयको प्रस्ताव तयार पारेपछि शिर्ष नेताहरुले छलफल गर्ने छन ।

त्यसैगरी बैठकमा संविधान निर्माणको क्रममा देखिएका विमतिका विषयहरुमा तत्काल छलफल थाल्ने, संविधानसभाको पहिलो बैठक अघि भएको चार बुँदे सहमति अनुसार सत्य निरुपण आयोग गठन लगायतको विषयमा छलफल भए पनि सहमति भने हुन नसकेको एमाओवादी नेता पोष्टबहादुर बोगटीले जानकारी दिए ।

१७ वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमणमा नेपालले उठाउने विषय र आवश्यक तयारीका बारेमा छलफल भएको कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए । वैठकमा मोदीको नेपाल भ्रमणलाई सफल र सार्थक बनाउन परराष्ट्र मन्त्रालय र जलस्रोत मन्त्रालयसँग छलफल गर्ने निर्णय भएको छ । नेपाल–भारत सिमा विवाद र जलबिद्युत परियोजनाका बिषयमा भारत सरकारसँग छलफल गर्नु अघि जलस्रोत मन्त्रालयसँग छलफल गरिने छ । यस्तै बैठकमा संविधान निर्माणप्रक्रियालाई गति दिने विषयमा छालफल भएको सिटौलाले वताए ।

माघ ८ भित्रै संविधान जारी गर्ने गरी संविधान निर्माणको कार्यतालिका अनुसार अघि बढ्ने सहमति बैठकमा भएको सिटौलाले वताए । बैठकले संविधानका विवादीत विषयमा संविधानसभा अन्र्तरगतको संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिले टुंगो लगाउन नसकेका विषयलाई टुंग्याउन शीर्ष नेता सम्मिलित अनौपचारिक समिति बनाउने विषयमा पनि छलफल भएको छ ।

शीर्ष नेता रहने अनौपचारिक समितिले सम्बाद समितिले टुंगो लगाउन नसकेका विषयमा छलफल गरी विवादीत विषयको टुंगो लगाउने छ । यसैगरी संविधान सभा बाहिर रहेका नेकपा(माओवादी लगायतका दलहरुलाई सहमतिमा ल्याउन वार्ता र छलफललाई तिव्र बनाउने निर्णय बैठकले गरेको छ ।

यस्तै बैठकमा सत्य निरुपण तथा बेपत्ता छानविन आयोग गठनका विषयमा पनि छलफल भएको र छिट्टै आयोग गठन गर्ने सहमति तीन दलवीच भएको छ । प्रमुख तीन दलको वैठकमा २६ सभासदको मनोनयनका विषयमा सामान्य छलफल भएको नेताहरुले वताएका छन् । संसदका बिभिन्न समितिको सभापति चयन गर्ने बारेमा पनि दलहरुबीच सहमति हुन सकेको छैन । वैठक मंगलवार साँझ ५ बजे फेरि बस्नेछ ।


  •  
  •  
  •