हतारमा सन्धी–सम्झौता नगर्ने तीन दलको निर्णय

137
  •  
  •  
  •  

काठमाडौं, ९ साउन (ओएनएस) :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणबारे छलफल गर्न बसेको प्रमुख तीन दलको बैठकले कुनै पनि सन्धी–सम्झौता नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको पहलमा बालुवाटारमा भएको कांग्रेस, एमाले र एमाओवादीको बैठकमा शनिबारबाट हुने नेपाल–भारत सँयुक्त आयोगको बैठकका एजेण्डाबारे पनि छलफल भएको छ ।

भारतसँग पावर ट्रेड एग्रिमेन्ट गर्ने तयारी भइरहेका बेला तीन दलबीच भएको यो निर्णयसँगै यो सम्झौताबारे व्यवापक बहस हुने देखिएको छ । हाल भारतीय पक्षले यो सम्झौता बारे गरेको प्रस्ताव विवादमा आएको छ । सत्तारुढ दल कांग्रेस र एमालेले यो सम्झौता गर्नुपर्ने बताइरहेका छन् भने, विपक्षी एमाओवादीलगायतका दलले विरोध गर्दै आएका छन् ।

यस्तै तीन दलले भारतसँग मागिने सहयोगका क्षेत्रमा पनि गृहकार्य गरेरमात्र प्रस्तुत हुने निर्णय भएको छ । सहयोगका क्षेत्रमा व्यवापक छलफल र गृहकार्यविना सहयोग माग्दा त्यसले राम्रो प्रतिफल नदिने भन्दै तीन दल यस्तो निश्कर्षमा पुगेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी यही साउन १८ गते नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । भारतीय प्रधानमन्त्रीको १७ वर्षपछि हुन लागेको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ ।


  •  
  •  
  •