दशैको मुखमा राजनीतिक निराशा

56
  •  
  •  
  •  

काठमाडौं, १३ असोज :प्रमुख तीन दलले दसैमा जनतालाई सहमतिको कोसेली दिने प्रतिवद्धता गरेका फेरि निराश पारेका छन् । कांग्रेस, एमाले र एमाओवादी संविधान निर्माणमा गंभीर नदेखिएपछि हालसम्म भएका सबै बैठक व्यर्थ भएका छन् । नेताहरुले सहमतिका नाममा फेरि समय गुजार्दै छन् ।

तीन दलका शिर्ष नेताहरुले दसैअघि सहमति गरी संविधान निर्माणमा सकरात्मक सन्देश दिन गरेको प्रतिवद्धता ‘भन्नका लागि मात्र भएको’ देखिएको छ । असोज १४ गतेभित्र सहमति गर्ने प्रतिवद्धता जनाएका ती दलका नेताहरुले संविधानका प्रमुख अन्तरवस्तु संघीय संरचना र शासकीय स्वरुपमा गंभीर छलफलनै गरेनन् । संविधानसभाको संवाद समितिको बैठकमा शिर्ष नेताहरुको संविधान निर्माणमा दतारुकता नदेखिएपछि उक्त समितिका सभापति बाबुराम भट्टराई निराशा व्यक्त गरे ।

 ‘संविधानमा नमिलेका प्रमुख अन्तरवस्तुमा सहमति जुटाउन मैले निरन्तर बैठक बोलाए, तर नेताहरुलको गैरजिम्मेवार रवैयाले राम्रो संकेत गरेको छैन’ उनले कान्तिपुरसंग भने, ‘शिर्ष नेताहरु सकभर बैठकमा नआउने र आए पनि सहमति खोज्न गंभीर देखिएनन । यसले जनतालाई निराश बनाउने काम गरेको छ ।’

उनले बैठकमा सहभागी शिर्ष नेताहरु संविधानका प्रमुख विषयमा खासै प्रवेश नगर्ने र गरे पनि सहमति खोज्ने तरिकाले प्रस्तुत नभएको सुनाए । ‘यो संविधान बनाउने तरिका होइन, मैले आज संवाद समिति बैठकमा सभासद्लाई आआफ्नो नेतालाई दवाव दिन भनेको छु’ उनको भनाइ छ, ‘अझै पनि दुई दिनभित्र सहमतिका लागि प्रयासका लागि शिर्ष नेताहरुलाई आग्रह गरेको छु ।’ उनले नेताहरुको यस्तो चालले माघ ८ भित्र संविधान चाहने जनताको चाहनमाथि प्रहार हुने बताए ।

 संविधानका मुख्य गरी संघीय संरचना र शासकीय स्वरुपमा सहमति खोज्ने बैठकमा तीन दलका शिर्ष नेताहरु उच्च स्तरीय राजनीतिक समितिको संयोजक को हुनेमा बिवाद गर्दै आएका छन् । एमाओवादीले अध्यक्ष पुष्पकमल दाहाल संयोजक हुर्नेपर्ने र कांग्रेस, एमालेले संयोजक आलोपालो हुनुपर्ने अडान राख्दै आएका छन् । समितिको संयोजक को हुने भन्ने बिवादले संसद अवरुद्ध हुनु पुगेको छ । जसले दलहरुबीच दूरी बढाएका कारण संविधान निर्माणमा ध्यान दिन सकेनन् ।

 संविधानसभा भवन बानेश्वरमा कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी ओली र एमाओवादी दाहालबीच भएको छलफलमा मुख्य विवादित संघीयता, शासकीय स्वरुप,  र अबरुद्ध संसद खुलाउन केन्दि्रत भयो । छलफलमा सहमति गर्ने पुनः महसुस भएको नेताहरुको भनाइ छ ।

 बैठकपछि काग्रेस कार्यबाहक सभापति पौडेलले छलफल सकारात्मक भएको र सोमबारको बैठकमा सहमति हुने संभावना रहेको दाबी गरे । ‘तीन नेताबीच खुलेर कुराकानी भएको छ । शासकीय स्वरुप, सघीयता र सदन खुलाउने तीनै बिषयमा छलफल सकारात्मक ढंगले अघि बढेको छ’ पौडेलले भने, ‘तर सवै  छिचलि सकेको छैन ।’ तीन नेताबीचको बैठक सोमबार विहान ८ बजे पुन बस्ने भएको छ । कांग्रेस सहमहामन्त्री पूर्णवहादुर खडाले पनि प्रमुख तीन दलबीचको दृष्टिकोणमा दुरी भएको बताए । केही दिनअघि सम्म उच्चस्तरीय राजनीतिक समितिको बिषयमा बढी छलफल केन्दि्रत भएपनि अहिले आएर संविधानकै बिषयमा बढी छलफल केन्दि्रत भएको खडाले बताए ।

‘छलफलका क्रममा बस्दा दलहरुबीचको दुरी कम देखिन्छ । सहमतिको निकटता पनि देखिन्छ । तर, अहिले सम्म सहमति जुट्न सकेको छैन’ खडाले भने, ‘शिर्ष नेताहरु एक घण्टा बसेर मात्रै पुग्दैन ।  निरन्तर ४८ घण्टा बार्तामा बस्ने हो भने सहमति निकाल्न सकिने दिशामा दृष्टिकोण आएका छन ।’

 अर्का एक नेताका अनुसार दलहरुबीच छलफल र बार्ताहरु सकारात्मक भएपनि ‘इगो’ को कारण सहमति हुन नसकेको बताउँछन । ‘कतिपय इगोको समस्या छ । सहमतिका लागि सवै कुराको परिस्थितीपनि निर्माण भईसकेको छैन’ ती नेताले भने,’माघ ८ मा संविधान जारी गर्नुपर्छ भन्ने दृष्टिकोाणमा कुनैपनि दलप्रति शंका गर्ने ठाउँ छैन । अलि गम्भिर भएर छलफल अघि बढ्यो भने सहमति हुन्छ ।’

 एमाले उपमहासचिब विष्णु पौडेलले सहमतिका लागि प्रयास भइरहेको बताए ।  ‘हामी अझै पनि प्रयासरत छौ । अब यो बिषयको विवाद र छलफललाई धेरै लम्बाउनु हुदैन भनेर हामी प्रयास गरिरहेका छौ’ उनले भने, ‘राजनीति समिति बनाउने भन्ने चार बुँदेमा उल्लेख छ । त्यो समितिले शान्तिप्रक्रियाका बाँकी काम पुरा गर्न त्यस्तो समिति बनाउने भन्नेमा हामी सहमत नै छौ । यो समितिको बिषयलये यति धेरै विवाद हुनेपर्ने होइन  ।’

कान्तिपुर दैनिकबाट 


  •  
  •  
  •