तीन दलबीच फेरिपनि कुरा मिलेन

57
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) : प्रतिपक्ष दलले गर्दै आएको संसद्को अवरोध तथा राजनीतिक गतिरोध अन्त्यका लागि सोमबार सिंहदरबारमा बसेको तीन दलको शीर्ष नेतृत्वको बैठक बिना निश्कर्ष टुंगिएको छ।

सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा भएको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका कार्यवहाक अध्यक्ष रामचन्द्र पौडेल, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री बामदेव गौतमलगायतका नेताहरुको उपस्थिति थियो। बैठकपछि बाहिरिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल छलफल भए पनि कुरा नमिलेको संचारकर्मीसँग बताए। उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका विषयमा सहमति नहुँदा केही सातादेखि व्यवस्थापिका संसद अबरुद्ध हुँदै आएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्र तथा चारबुँदे सहमतिको कार्यान्वयनको माग राख्दै एमाओवादी तथा मधेसी दलहरुले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्। अनौपचारिक तहमा तीन दलका नेतृत्वबीच संसद्को गतिरोध हटाउने विषयमा पटकपटक छलफल भए पनि सहमति हुन सकेन।

छलफलबाट केही निकास नआएपछि अवरोधलाई निरन्तरता दिने निर्णय एमाओवादी तथा मधेसी दलहरुले गरेका हुन्। अमेरिका जानुअघि प्रधानमन्त्री सुशील कोइरालाले संसद्को अवरोध खुलाउन शुक्रबार बैठक डाके पनि छलफल हुन सकेन। आफ्‍नो मुद्दा सम्‍बोधन नभएसम्म एमाओवादीले अवरोध जारी रहने चेतावनी दिएको छ।

संसद्मा भइरहेको अवरोधलाई हटाएर संसद्लाई सुचारु गर्नेतर्फ सरकार पक्ष र विपक्ष दुवै गम्भीर देखिएका छैनन्। सभामुखले बैठक बोलाउने र प्रमुख प्रतिपक्षी एमाओवादी र मधेसी दलहरुले अवरोध गरेपछि स्थगित गर्ने शृंखला झण्डै तीन सातादेखि चल्दै आएको छ। दिनैपिच्छे बैठक बोलाएर अवरोधको नाटक मंचन गराउँदै संसद् स्थगित गर्ने शृखंलालाई बन्द गरेर निकास खोज्नका लागि सभामुखले पनि सरकार र विपक्षलाई दबाब दिनु आवश्यक भएको सभासद्हरुले बताउँ‌दै आएका छन्।


  •  
  •  
  •