उच्चस्तरीय राजनीतिक संयन्त्रको विवादले तीनदलको वार्ता विथोलियो

64
  •  
  •  
  •  

काठमाडौं, ८ भदौ (ओएनएस) : प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र एमाओवादीको बैठक उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विवादले निष्कर्षविहीन बनेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरी त्यसको संयोजक आफूले पाउनुपर्ने दाबी गरेपछि बैठक निष्कर्षविहीन भएको हो ।

आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठक संविधान निर्माणलगायत यसअघि थाती रहेको विभिन्न नियुक्ति र सरकारका कामकारबाहीका सम्बन्धमा नजिक पुगे पनि राजनीतिक संयन्त्र गठन गर्ने विषयले निष्कर्षविहीन बनेका नेताहरुले बताएका छन् ।

बैठकमा एमाओवादीले पुस ९ गते भएको सहमति अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र चाँडो गठन गर्नु पर्ने र उसको संयोजक अध्यक्ष दाहालले पाउनुपर्ने अडान लिएपछि बैठक बिना निष्कर्ष सकिएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । ‘ समयमै संविधान निर्माण गर्न विवादित विषयमा तीन दलको समान धारणा बन्न लागेको बेला एमाओवादीले राजनीतिक संयन्त्र गठन हुनुपर्ने अनावश्यक विषय तेर्साएर बैठकबाट बाहिरियो, पौडेलले संचारकर्मीमाझ भने ।

बैठकमा सत्य, निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग छिट्टै गठन गर्ने, शासकीय र संघीय प्रणाली निर्वाचन र न्यायप्रणालीलगायत विषयमा सहमति नजिक पुगी कांग्रेस एमालेले नेकपा–माओवादी र अन्य दलसमेतको सहमतिमा निष्कर्षमा पुग्ने धारणा राखेका थिए । संविधानका विवादित विषयमा सहमति नजिक पुग्न लागेका बेला एमओवादीले विगतको सहमतिअनुसार उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने माग गरेपछि सत्तारुढ दलहरूले एमाओवादीकै नेतृत्वमा राजनीतिक सहमति तथा संवाद समिति निर्माण भई काम गरिरहेकाले संयन्त्रको औचित्यमाथि प्रश्न गरेको उपसभापति पौडेलले बताए ।

तर, कांग्रेस एमालेले भने संविधान निर्माण अघि बढिरहेको परिस्थितिमा एमाओवादीले आफ्नो नेतृत्वमा गठन गरेको सं्घीय गणतान्त्रिक मोर्चाका कामकारबाहीका सम्बन्धमा समेत सत्तारुढ दलले विरोध गरेका थिए ।
बैठकमा एमाओवादी एकाएक राजनीतिक संयन्त्र गठन हुनुपर्ने माग राखेर अघि बढिरहेको संविधान निर्माणको कामबाट विचलन हुन खोजेको एमालेका उपाध्यक्ष भीम रावलले आरोप लगाए ।

नियमित तीन दलको बैठक बसिरहेको र प्रधानमन्त्री स्वयम्ले संविधानसभा बाहिरका दलसँग पनि वार्ता गरिरहेको बताउनुहुँदै उपाध्यक्ष रावलले संविधानसभाको दोस्रो निर्वाचनपछि दलहरूबीच संविधानसभा बाहिर कुनै पनि संयन्त्र गठन नगर्ने सहमति भएको बताए ।
एमाओवादीले भने आफूहरुले विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएको बताएको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्तारुढ प्रमुख दलले शनिबारमात्रै चारबँुदे सहमतिमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठन आवश्यक नरहेको निष्कर्ष निकालेका कारण समस्या उन्पन्न भएको बताए ।
उनले तोकिएको समयमै संविधान निर्माण गर्ने वातावरण बनाउन सत्तारुढ दल गम्भीर नभएको आरोप लगाए ।


  •  
  •  
  •