उपत्यकामा संगठित रुपमै डकैती गर्ने ‘थोते समूह’ पक्राउ

116
  •  
  •  
  •  

 काठमाडौं, असोज १२ (ओएनएस) :  काठमाण्डौं उपत्यकामा संगठित रुपमा डकैती गर्दै आएको ‘थोते समूह’ पक्राउ परेको छ ।

काठमाण्डौ उपत्यकाका तीन जिल्लाका विभिन्न ठाँउमा रातीको समयमा संगठित रुपमा घर भित्र प्रवेश गरी पेस्तोल, खुकुरी चक्कु लगायतका हातहतियार प्रयोग गरी मानिसहरुलाई नियन्त्रणमा  लिएर डकैती गर्ने थोते समूहका पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले जनाएको छ ।

उनीहरु काठमाण्डौं उपत्यकाका विभिन्न ठाँउबाट पक्राउ परेको प्रहरीले जनाएको छ । ‘थोते समूह’का अगुवा भक्तपुर चित्तपोलका  मदन रायमाझी, काभ्रे माझीफेदा ४ का जीवन भन्ने मिङमार तामाङ,मनोज तामाङ, धादिङ बैरेनी ६ का जगत लामा, रामेछाप वेथानका खड्ग तामाङ पक्राउ परेको महाशाखाको भनाई छ ।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल, गोली पाँच थान, पाँच थान मोवाईल सेट, गालेको सुन एक तोला ८ दशमलव ९९ लाल र विषादी बरामत गरेको प्रहरीले जनाएको छ । यो समूहले पछिल्लो समय मात्रै १४ ठाँउमा लुटपाट गरेको खुलेको छ । ‘थोते समूह’का अगुवा मदन रायमाझी १६ बर्षदेखि चोरी, डकैतीमा संलग्न रहेको प्रहरीको दाबी छ।

काठमाण्डौं मुलपानी–५ का चन्द्र बहादुर श्रेष्ठको घरमा डकैती गर्ने स्थानीयको प्रतिकारमा गत बर्ष यै समूहको एक जनाको मृत्यु भएको प्रहरीको भनाई छ  ।

यो समूहले आफ्नो कोठा हुँदा हुँदै अपराध गर्नका लागि योजना बनाउन  जोरपाटीको नयाँ वस्तीमा छुट्टै कोठा ल्याएको, दिउँसो समयमा बाहिर हिडडुल नगर्ने र विहान र रातीको समयमा मात्रै हिड्ने गरेको महाशाखाको दाबी छ । यो समूहले झापा पुगेर समेत डकैटी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको  महाशाखाले जनाएको छ ।


  •  
  •  
  •