ठोकर्पा मावि पुनर्निर्माण गर्न हेल्प नेपालको सहयोग

353
  •  
  •  
  •  

thokarpa_studentsकाठमाडौँ, १२ फागुन(ओएनएस) : गत वर्षको भूकम्पबाट क्षतिग्रस्त भएको सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाविसस्थित ठोकर्पा माविको पुनर्निर्माण गर्न हेल्पनेपाल नेटवर्कले सहयोग गर्ने भएको छ ।

हालै सो विद्यालयमै पुगेर हेल्प नेपाल नेटवर्कको युएस शाखाका अध्यक्ष अभय श्रेष्ठले विद्यालय व्यवस्थापन समितिसँग यस सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उनले सो अवसरमा पहिलो किश्ता स्वरुप १५ लाखको चेक पनि विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

विद्यालयको पुनर्निर्माणकालागि हेल्प नेपाल नेटवर्कले एक करोड रुपियाँ सहयोग गर्ने वाचा गरेको छ । त्यसमध्ये झण्डै साठी लाख रुपियाँ हेल्पनेपाल नेटवर्क युएस शाखाले र बाँकी रकम ‘लिभरपुल युनाइटस फर नेपाल’ नामक समूहले व्यहोर्ने जनाइएको छ ।

स्थानीय जनसमुदायबाट स्वेच्छिक श्रमदान समेत गरी परियोजनाको कूल लागतको झण्डै १० प्रतिशत प्राप्त हुने अपेक्षा गरिएको छ ।

“नेपालमा भूकम्प गए लगत्तै हेल्पनेपाल नेटवर्कको युएसले प्रवासी नेपाली तथा नेपालका मित्रहरुबाट प्राप्त सहयोग परिचालन गरी भूकम्प पीडितहरुकालागि उद्धार तथा राहत पुर्‍याएको थियो । अहिले ठोकर्पा माविको पुनर्निर्माणमा सघाउन पाउँदा हामीलाई साह्रै खुसी लागको छ,” हेल्पनेपाल नेटवर्कको युएस शाखाका अध्यक्ष अभय श्रेष्ठले भने । उनले दोलखा र नुवाकोटका थप दुई वटा विद्यालयहरुको पुनर्निर्माणमा पनि आफ्नो शाखाले सघाउनेबारे छलफल भैरहेको जानकारी दिए ।

ठोकर्पा माविका प्रधानाध्यापक गोविन्द महतले यसरी विदेशमा बसेका नेपालीहरुले भूकम्प प्रभावित क्षेत्रमा शैक्षिक पुनर्निर्माणमा सघाएकोप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले भूकम्पका कारण पठनपाठन प्रभावित भएपनि विद्यालयको गुणस्तर अरु बढाउने तर्फ आफूहरुले हरसंभव प्रयास गर्ने पनि बताए ।

सन् १९९९ मा स्थापित हेल्प नेपाल नेटवर्कले शिक्षा, स्वास्थ्य तथा आपत्कालिन मानवीय सहायतका क्षेत्रमा अहिलेसम्म एकसय भन्दा बढी परियोजनाहरु पुरा गरिसकेको छ । विदेशमा बस्ने नेपालीहरुले प्रत्येक महिना दिएको एक पाउण्ड वा एक डलरबाट पनि नेपालमा थुप्रै काम गर्न सकिन्छ भन्ने उदाहरण सो संस्थाले प्रस्तुत गरेको छ ।


  •  
  •  
  •