डेरा खोज्ने बहानामा चोरी

168
  •  
  •  
  •  

काठमाडौं ११ पुस ।
बालाजु मनमैजुकी रमिता श्रेष्ठको कोठामा अपरिचित महिला आइन्। ‘दिदी, कोठा खाली छ? छ भने बसौं भनेर’ भन्दै ती महिलाले सोधेपछि श्रेष्ठले ‘खाली छैन’ भन्ने जबाफ दिइन्।

श्रेष्ठ आफ्नै काममा लागिन्। तर ती महिला फेरि श्रेष्ठको कोठामा थाहै नपाई छिरेर सामान चोर्न थालिन्। ती महिलालाई आफ्नै कोठामा देखेपछि श्रेष्ठले ‘कोठा छैन भनेको सुनिनौ? चोर्न पो आएको हो कि क्या हो’ भन्दै गुहार मागिन्।

श्रेष्ठले चोरचोर भन्दै कराएपछि स्थानीय बासिन्दा आएर ती महिलालाई कुटपिट गर्न थाले। प्रहरी बोलाएर जिम्मा लगाएपछि महिलाको परिचय खुल्यो। ती महिला बारा भरतजंग सिंगौला घर भएर ललितपुर खुमलटार बस्दै आएकी सरीता केसी रहिछन्।

गत मंसिर २५ गते भएको यो घटनामा महानगरीय प्रहरी वृत्त बालाजुले थप केरकार गर्दा केसीलाई यसअघि २०७० चैत २१ गते पनि चोरी अभियोगमा स्वयम्भू प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको पाइयो। अदालतले गत वैशाख ३ गते १२ हजार धरौटीमा केसीलाई छाडेको थियो।

गत मंसिर १६ गते बालाजु कुमारीथानमा राधा सुनारको कोठाबाट समेत केसीले दुई लाख ३० हजारबराबरको धनमाल चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सुनारको घरमा पनि केसी डेरा खोज्ने बहानामा प्रवेश गरेको जानकारी बालाजु वृत्तका प्रमुख डीएसपी अर्जुन रानाभाटले दिए।

चोरीकै घटनामा बालाजु प्रहरीले चितवन खैरेनी घर भएर मनमैजु बस्ने निर्मला शर्मालाई पनि पक्राउ गरेको छ। गत मंसिर २३ गते मनमैजुस्थित लिमा तामाङको कोठाबाट ५२ हजार नौ सय रुपैयाँबराबरका सुनचाँदीका गहना चोरेको आरोपमा शर्मालाई पक्राउ गरिएको डीएसपी रानाभाटले बताए।

उनले भने, ‘सुरुमा दिदीको साइनो लगाउने र पछि गहना नै चोरेर हिँडेको पाइयो।’ शर्माले तामाङको कोठाबाट चोरी गरेका गहना नुवाकोट विदुरस्थित ओमकुमारी ज्वेलर्समा धितो राखेर पैसा लिएकी थिइन्।

केही गहना भने माइतमा लगेर राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘केसी र शर्मा लामो समयदेखि चोरीमा लाग्दै आएको अनुसन्धानबाट खुलेको छ। हामीले अन्य चोरीका घटनामा उनीहरूको संलग्नताबारे पुष्टि गर्न खोजेका छौं’, रानाभाटले भने। अन्नपूर्णपोष्ट


  •  
  •  
  •