उपत्यकामा ठगहरूको जालो सावधान ! यसरी पनि ठगिन सक्नुहुन्छ तपाईं

104
  •  
  •  
  •  

काठमाडौं ३० साउन ।

अपराध महाशाखाका एसपी प्रकाश अधिकारीसँग शुक्रबार एक व्यक्ति गुनासो गर्दै थिए, ‘तपाईंविरुद्ध प्रहरीमा साइबर क्राइम मुद्दामा उजुरी परेको छ, ५० हजार रुपैयाँ दिए मिलाइदिन्छु नत्र फस्नुहोला भन्दै धम्क्याए सर ।’ आफूलाई प्रहरी बताउने एक व्यक्तिले आफूलाई ब्ल्याकमेलिङ गरिरहेको उनको गुनासो थियो ।

ती व्यक्तिको कुरा नसकिँदै एक व्यवसायी एसपी अधिकारीको कार्यकक्षमा प्रवेश गरे । उनी आफ्नो एक पूर्वकर्मचारीले १० वटा ल्यापटप तथा मोटरसाइकल गरी १० लाखभन्दा धेरै ठगी गरेको उजुरी लिएर पुगेका थिए । महाशाखाको अर्काे छेउमा दरबारमार्गमा वाइन पसल सञ्चालन गर्ने एक युवतीले डन गणेश लामालगायतले आफूहरूको डेढ लाख रुपैयाँ नदिएको भन्दै गुनासो गरिरहेकी थिइन् । शुक्रबार मात्र होइन, हरेक दिन प्रहरी कार्यालयमा ठगीका उजुरी गर्न आउनेको बिहानदेखि बेलुकासम्म भीड लाग्छ ।

टेकुस्थित अपराध महाशाखा तथा काठमाडौं परिसरमा पुग्ने सर्वसाधारणमध्ये करिब ८० प्रतिशतका ठगीसम्बन्धी समस्या हुन्छन् । ‘उपत्यकाको ठगीबारे कुरा गर्ने हो भने तीन दिन लाग्छ,’ ठगी घटनाको अनुसन्धान गर्दै आएका अपराध महाशाखाका एसपी अधिकारी भन्छन्, ‘उपत्यकामा ठूलो समूह ठगको जालोमा परेको देखिन्छ ।’ सरकारी जागिर खुवाउने, आकर्षक कमाइ हुने विदेश पठाउने, आकर्षक ब्याज दिनेदेखि सस्तोमा डलर साटिदिने तथा सस्तोमा सुन बेच्ने भनेर ठगी हुने गरेको छ । दैनिकजसो प्रहरीले ठगी आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गर्दै आएको छ ।

गर्लफ्रेन्ड बनाउँदै ठग्दै

आफूसँग बेलायतको ग्रिनकार्ड भएको र बिहे गरेर विदेश लैजाने भन्दै २० भन्दा धेरै युवतीलाई ठगी गर्ने वीरबल तामाङलाई पनि प्रहरीले यही वर्ष पक्राउ गर्‍यो । उनले युवतीलाई यौन शोषणसमेत गरेका थिए । गत फागुनमा सिआइबीले उनलाई पक्राउ गरेको हो । उनका केही पूर्वप्रेमिकाले जबर्जस्ती करणी मुद्दामा समेत प्रहरीमा जाहेरी दिएका थिए ।

आफूलाई धनाढ्य व्यक्तिका रूपमा प्रस्तुत गरेर युवतीसँग नजिकिएर उनी ठगी गर्थे । ठगी गरिसकेपछि मोबाइल नम्बर परिवर्तन गरी फरार हुने गर्थे । हाल उनी जेलमा छन् ।

एटिएमको पिन चोर्दै सपिङ गर्दै

एटिएमबाट पैसा निकाल्न नजानेको नाटक गरी एटिएम बुथबाट अरूको पिन नम्बर चोरेर ठगी गर्दै आएका भारत बिहार घर भएका भूषण पाण्डे र दिलीपकुमार यादवलाई प्रहरीले गत शनिबार पक्राउ गर्‍यो । उनीहरूले नबिल बैंकका ग्राहकको खाताबाट गोप्य रूपमा पैसा निकाल्ने तथा अनलाइन पेमेन्टमार्फत सपिङ गर्दै आएका थिए । एटिमएबाट फालिएको स्लिपबाट सूचना लिई उनीहरूले अनलाइन अकाउन्ट ह्याक गर्दै आएका थिए । तर, प्रहरीले समयमै सूचना पाउँदा ठूलो रकम ठगी हुन पाएन ।

हाकिम भेटाउँदै ठग्दै

गृह मन्त्रालयमा खरिदारको जागिर लगाइदिने भन्दै राजकुमार चापागाईंले दुई युवतीबाट चार लाख ठगी गरे । उनको ठग्ने शैली पनि रमाइलो छ । उनी नियमित सिंहदरबार गइरहन्थे । जागिर खान इच्छुक व्यक्तिलाई लगेर मन्त्रालयका हाकिम पनि चिनाउँथे । बहिनी हो, जागिर लगाइदिनुपर्‍यो भन्दै कुरा गर्थे । पछि कुरा मिलिसकेको भन्दै पैसा लिएर ठग्ने गरेको खुलेपछि अपराध महाशाखाले उनलाई गत महिना पक्राउ गर्‍यो ।

अमेरिकी दूतावासको कर्मचारी भन्दै ठगी

आफूलाई अमेरिकन दूतावासको कर्मचारी भएको र भिसा लगाइदिने भन्दै सातजनालाई ठगी गर्ने केदार खड्का पनि यतिवेला महाराजगन्ज प्रहरीको हिरासतमा छन् । गत १७ साउनमा पक्राउ परेका उनले अमेरिकी दूतावासको नक्कली परिचयपत्रसमेत बनाएका थिए । आफ्नो नाम दीपक कार्की भएको भन्दै झुक्याएर उनले चार वर्षदेखि धेरै व्यक्तिलाई ठगी गर्दै आएको खुलेको छ । भिसा लगाइदिने मात्र होइन, दूतावासबाट संघसंस्थालाई अनुदान मिलाइदिने भनेरसमेत उनले ठगी गरेका थिए ।

पैसा लिएपछि उनी मोबाइल नम्बर परिवर्तन गरी भाग्ने गरेका थिए ।

फेसबुकको प्रेमले फसायो

प्रहरीका अनुसार काठमाडौंकी ठकुरी थरकी एक युवतीलाई गत वर्ष एक अपरिचित फेसबुक रिक्वेस्ट आयो । राणा थर भएका युवकले उनलाई फेसबुक रिक्वेस्ट पठाए, उनले एसेप्ट गरिन् । त्यसपछि ती युवकसँग उनको नियमित च्याट हुन थाल्यो । युवकले पटकपटक म्यासेज पठाएपछि युवतीले पनि कुरा गर्न थालिन् । युवकले आफू स्विडेनमा बस्ने गरेको बताए । युवतीलाई पनि स्विडेनमा बोलाउन सक्ने बताए । स्विडेन सपनाको पछि लागेपछि युवती नजिकिँदै गइन् ।

त्यसका लागि खर्च आफैँले गर्नुपर्ने प्रस्ताव आयो, युवतीले स्वीकार गरिन् । ती युवकले भनेका व्यक्तिका नाममा भारतमा पैसा पठाउन थालिन् । पटकपटक गरेर उनले २७ लाख पठाइन्, तैपनि उनको भिसा आएन । शंका गर्न थालेपछि युवक बेपत्ता भए । फेसबुकमा चिनजान भएका युवकले उनलाई माया गरेको नाटक गरेर ठगिरहेका थिए ।

गलत नाममा फेसबुक अकाउन्ट खोलेर ती युवकले त्यसरी ठगी गरेका हुन् । आफू स्विडेनको भएको भन्दै नेपालमै बसेर ठगी गरेपछि उनी फरार भएको प्रहरीले जनाएको छ । फेसबुकबाट भएको चिनजानले ठगिएको यो नयाँ घटना होइन । फेसबुकबाट चिनजान गरी विदेश लैजाने भन्दै अन्य दुई युवती पनि केही महिनाअघि ठगिएका थिए ।

आफूसँग फ्रान्सको स्थायी बसोवासको अनुमति भएको भन्दै जोरपाटी बस्ने प्रवेश राईले धरानकी एक युवतीलाई झुक्याएका थिए । बिहे गरेर फ्रान्स लैजाने भन्दै युवतीसँग उनले आठ लाख लिई ठगी गरेका थिए । दुई महिनाअघि मात्र उनलाई प्रहरीले पक्राउ गरेको थियो । फेसबुकमार्फत नै युवतीसँग चिनजान गरी उनले ठगी गरेका थिए । प्रेमको नाटक गरी राईले युवतीलाई ठगी गरेका हुन् ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •