थरुहट आन्दोलनको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न निर्देशन

330
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन(ओएनएस) : सभामुख कृष्णबहादुर महराले तराई–मधेश तथा थरुहट आन्दोलनको छानविन गर्न गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख महराले टीकापुर घटनाको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् ।

बुधबारको दोस्रो बैठकमा पनि राष्ट्रिय जनता पार्टी नेपालका सांसदले आफ्ना स्थानबाट उठेर अवरोध परेपछि सभामुखले राजपाको मागअनुरुप आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

बैठकमा सभामुखले भने, ‘मैले अघिल्लो बैठकमा पनि सरकारको गम्भीर ध्यानकर्षण गराएको थिए, सरकारका तर्फबाट पनि जवाफ आएको थियो, उक्त आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न गराउन म निर्देशन दिन्छु ।’
सभामुखको निर्देशनपछि राजपाका सांसदहरु आआफ्नो स्थानमा बसेका थिए ।

प्रतिनिधिसभाको अघिल्लो बैठक राजपाको विरोधका कारण स्थगन भएको थियो । २०७२ साल भदौमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न सरकारले सर्वोच्च अदालतको पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानविन आयोग गठन गरेको थियो । आयोगले एक वर्षअघि नै प्रतिवेदन बुझाए पनि सार्वजनिक गरिएको छैन ।


  •  
  •  
  •