शसस्त्र असई हत्याका आरोपीको नाम सार्वजनिक

362
  •  
  •  
  •  

महोत्तरी, २८ फागुन(ओएनएस) : सशस्त्र प्रहरीका असई थमन विश्वकर्माको हत्यामा आरोपीहरुको नाम सार्वजनिक गरिएको छ । आरोपीमध्ये तीन जना पक्राउ परेका छन् भने २५ जना फरार छन् ।

भदौ २५ गते बिहान बाँसको भाटा र लठ्ठीले कुट्दा घाइते भएका विश्वकर्माको उपचारको लागि जनकपुर लगिरहेको बेला पुनः महोत्तरीको सोनुखडा भन्ने स्थानमा एम्बुलेन्सबाट थुति हत्या गरेको भनी प्रहरीले २८ जना उपर कर्तव्य ज्यान तथा आगजनी मुद्दा दर्ता गरी अदालतमा पेश गरेको छ ।

पक्राउ गरिएकामा जलेश्वरका संजयकुमार शाह, प्रदीप शाह माझी तथा मोहन ठाकुर छन् । तीनमध्ये दुई स्थानीय व्यापारी तथा ठाकुर सद्भावना पार्टीका कार्यकर्ता हुन् । घटनामा नेकपा संयुक्तका जिल्ला अध्यक्ष रमेश प्रसाद शाह, सदभावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादव, पूर्वसभासद कौशल कुमार यादव, तराईमधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्मा, सद्भावना पार्टीका जिल्ला सचिव धर्मेन्द्र राय, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता राम शंकर मिश्र, तराई मधेश सदभावना पार्टीका केन्द्रीय सदस्य सुरेश पाण्डे तथा राजनीतिकर्मी देवेन्द्र चौधरी, अनिल ठाकुर, लक्ष्मी महतो छन् ।

त्यस्तै, स्थानीय व्यापारी, युवा तथा विद्यार्थीहरुमा सतिनन्द चौधरी, चन्देश्वर साह मेहतरी, राजा चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओम कुमार भगत, रविन्द्र राम चमार, रंजित साह, बिकी शाह, फुले यादव, पवन कापर, रोहित कुमार शर्मा, लाल बाबु बिन, शम्भु साहमाथि अभियोगपत्र दर्ता भएको स्रोतको दावी छ । अभियोग लागेकाहरु फरार छन् ।

यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राजनीतिकर्मी, व्यापारी लगायत व्यक्तिहरुलाई फसाउन मुद्धा दर्ता गरिएको आरोप लगाएका छन् ।

सरकारी मुद्धा सम्बन्धि ऐन २०४९ को दफा १८ बमोजिम सशस्त्र प्रहरी सीमा सुरक्षा वल कार्यालय महोत्तरीको पत्र तथा बाँके जिल्ला कल्याणपुर गाबिस ५ का प्रेम बहादुर बि.क.को जोहर नेपाल सरकार भई अभियोग पत्र दर्ता भएको बुझिएको छ ।


  •  
  •  
  •