अदालतद्वारा थाइल्याण्डकी प्रधानमन्त्री बर्खास्त

182
  •  
  •  
  •  

काठमाडौं, २४ वैशाख । थाइल्याण्डकी प्रधानमन्त्री यिङलक सिनावात्रालाई त्यहाँको संवैधानिक अदालतले पदबाट हट्न आदेश दिएको छ ।
सत्ताको दुरुपयोग गरेको आरोपमा अदालतमा मुद्धा खेपेकी प्रधानमन्त्री सिनावात्राले अन्ततः पद नै गुमाउनु पर्ने भएको छ । अदालतले प्रधानमन्त्री सिनावात्राले राष्ट्रिय सुरक्षा प्रमुखलाई पदबाट हटाउन गरेको निर्णय गैरकानुनी रहेको ठहर समेत गरेको छ ।
प्रधानमन्त्री सिनावात्राविरुद्ध २०१३ को नोभेम्वरमा प्रदर्शन भएको थियो । सिनावात्राको क्याविनेटमा वाणिज्यमन्त्रीले अब प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । क्याविनेटका अन्य सदस्यहरु यथावत रहनेछन् ।
‘वाणिज्यमन्त्री निवात्तुम्रोङ बुनसङपाइसानलाई काम चलाउ प्रधानमन्त्री बनाउन क्याविनेट सहमत भएको छ’ उपप्रधानमन्त्री फोङथेप थेपकान्जानाले बीबीसीसँग भने ।
सन् २०११ मा विपक्षी पार्टीले नियुक्ति गरेका राष्ट्रिय सुरक्षा प्रमुख थाविल प्लिन्सरीलाई बर्खास्त गरेपछि प्रधानमन्त्री सिनावात्रा विवादमा आएकी थिइन् ।
‘सिनावात्राको प्रधानमन्त्रीको हैसियत अब सकियो, उनी उक्त पदमा कामचलाउका लागि पनि बस्न मिल्दैन’ अदालतले आफ्नो आदेशमा भनेको छ ।
देशको ग्रामिण भेगमा लोकप्रिय भएपनि उनी विरुद्ध विपक्षीले शहरको सडक तताउने गरेका थिए । उनी माथि निर्वासनमा रहेका आफ्ना दाजु थाक्सिन सिनावात्राको सुझावका आधारमा सरकार चलाउने गरेको आरोप विपक्षीले लगाउदै आएका छन् ।
बर्खास्त भएपछि मिडियासँग बोल्दै श्रीमती सिनावात्राले अदालतको निर्णयले आफ्नो पार्टीलाई फाइदा पुग्ने अपेक्षा गरेको बताएकी छन् ।

  •  
  •  
  •