विराटनगरमा तनाव, प्रहरी चौकीमा आगजनी, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

483
  •  
  •  
  •  

विराटनगर, २३ भदौ(ओएनएस) : सप्तरीमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । भारदहमा सवारी साधनहरु स्कोटिङ गरेर गन्तव्यतर्फ लैजान लाग्दा प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको थियो । प्रहरीले प्रदर्शनकारीले ढालेका रुख हटाउन खोज्दा आक्रमण भएपछि गोली चलाएको बताएको छ।  झडपमा प्रहरीले चलाएको गोली लागेर पोर्ताहा २ का ६० वर्षीय रामकिसन राउतको मृत्यु भएको हो ।

विराटनगरको रानीमा तनाव

विराटनगर भन्सार कार्यालय रानीमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले भन्सारमा रहेको चेकपोष्टमा आगजनी गरेका छन् ।

मोर्चाका कार्यकर्ताले चेकपोष्टमा खटिएका प्रहरीलाई पेट्रोल छर्किएर जिउँदै जलाउने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको छ । सशस्त्र प्रहरीले १० राउण्ड हवाई फायर गरेको छ भने नेपाल प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । यस्तै, मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा समेत गरेका छन् ।

यसैबीच, मकालु टेलिभिजनका पत्रकार नविन कर्णको मोटरसाइकल जलाइदिएका छन् । टायर बालिरहेको स्थानमा लगेर मोटरसाइकल जलाइदिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । मोर्चाका कार्यकर्ताले हानेको ढुङ्गाले लागेर अर्का पत्रकार जीतेन्द्र ठाकुरलाई चोट लागेको छ । उनी गोरखापत्रका सम्वाददाता हुन् ।

मधेसी मोर्चाका कार्यकर्ताले भन्सार कार्यालय नजिक रहेका मानब बेचबिखनविरुद्ध सक्रिय माइती नेपाल र केआई नेपालको कार्यालय पनि तोडफोड गरेका छन् ।


  •  
  •  
  •