अवैध सुन ल्याएको अभियोगमा पक्राउ परेका शेर्पा भन्छन् : मेरो बदनाम गरियो

266
  •  
  •  
  •  

tendi sherpaकाठमाडौं, १५ चैत (ओएनएस) : राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाले हङ्कङ जाँदा आफूले लगाएको सुनको गहना भन्सार क्लियरेन्स गर्नुपर्छ भन्ने थाहा नपाएका कारण बढि सुन ल्याएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले भने,‘ हङ्कङ जाँदा मैले लगाएको सुनको गहना विमानस्थलमा चेकजाँच गर्दा कसैले केही भनेन, स्वदेश फर्कदा बढि सुन ल्याएको भनेर प्रहरीले पक्रिए ।’

शेर्पाले आफू सुनको गहनाको सौखिन भएकोले हङ्कङमा करिब साँढे छ तोलाको दुईवटा टेल किनेको उल्लेख गर्दै आफूले बढि सुन ल्याएको भनि गरिएको प्रचारमा केबल आफूले नेपालबाटै लगाएर गएको सुनको बाला र गहना भएको दाबी गरे ।

उनले भने,‘म राष्ट्रिय खेलकुद परिषदले दिएको गाडी र चालकको सुविधान नलिने मान्छे, पारिश्रमिक पनि पारा ओलम्पिक कमिटिलाई दिने मान्छे कति सुन ल्याउँदा कति फाईदा हुन्छ भन्ने थाहा छैन । नेपाल आएपछि मात्रै तोलामा पाँच छ हजार फाईदा हुने थाहा पाएको हुँ ।’

शेर्पाले शनिबार राति साँढे दश बजे हङ्कङ बास्केटबल एशोसियनसँग बैठकमा सहभागी भएर नेपाल एयरलायन्सको आर.ए. ४१० बाट विमानस्थलमा उत्रिएपछि भन्सार क्लियर गरेर बाहिर निस्कने क्रममा प्रहरीले पूनः चेक गरेर बढि सुन भएको बताएको जानकारी दिँदै आफूसँग बढि भएको सुनको नेपालमा खरिद गरेको रसिद समेत सुरक्षित रहेको बताए ।

उनले आफू निर्दोष रहेको तर केही गलत बुझाईका कारण समस्यामा परेको भन्दै कानून अनुसार आफूले न्याय पाउने विश्वास व्यक्त गरे ।शेर्पाले आफूले लगाईरहेको सहित अझै तीन वटा सुनको बाला रहेको जानकारी दिए ।

यसअघि २५ तोला अबैध सुन ल्याएको अभियोगमा पक्राउ परेका शेर्पा १३ लाख धरौटीमा छुटेका थिए ।


  •  
  •  
  •