काठमाडौँ, १५ फागुन(एजेन्सी) : पछिल्लो ५ वर्षदेखी सीरियामा भइरहेको गरहयुद्धमा पहिलोपटक अस्थायी संघर्षविराम लागू गरिएको छ ।
संघर्षविरामको सुरूवात स्थानीय समयानुसार शुक्रबार मध्यरात्री १२ बजेदेखी सुरू भएको हो । सुरूवातका समाचारहरू अनुसार संघर्ष अर्थात् युद्धविराम भएको छ ।
सीरियाली सञ्चारमाध्यमहरूले राजधानी दमिश्कको केही रिहायशी क्षेत्रमा गोलाबारी भने भएको जनाएका छन् । तर, उक्त गोलाबारी कसले गर्यो त्यसबारेमा कुनै जानकारी प्राप्त हुन सकेको छैन् ।
यस्तै हामाको नजिक सलमियामा एक कार विस्फोट भएको थियो, जसमा २ जनाको मृत्यु भएको थियो । समाचारका अनुसार चरमपन्थी समूह आईएसआईएसले उक्त आक्रमण गरेको हो ।
यसका साथै सरकार र विद्रोही गुटबीच केही स-साना झडप भएको समेत समाचारहरूमा नाइएको छ ।
युद्धविराममा सीरियाली सरकार र विद्रोही संगठन पनि सहभागी छन्, तर यसमा केही चरमपन्थी संगठन इस्लामिक स्टेट र अल-कायदासँग जोडिएको नस्रा फ्रन्ट समावेश छैन् ।
युद्धविराम लागू भएको केही समयपछि रूसले पनि आफ्नो लडाकु विमान रोकेको छ । युद्धविरामको उल्लंघनमा लगातार जानकारी लिनका लागि अमेरिका र रूसद्वारा निर्मित एक टास्क फोर्सले जेनेभामा छलफल गर्ने बताइएको छ ।
सीरियाको गृहयुद्धमा अहिलेसम्म करिब अढाई लाख मानिस मारिएका छन् भने लाखौ बेघर भएका छन् ।