ठडिँदै ऐतिहासिक गोल्मा भीमश्वर मन्दिर

241
  •  
  •  
  •  

सिन्धुपाल्चोक, ३ चैत (ओएनएस) : १२ वैशाख २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको मानेश्वाँरा गोल्मास्थानस्थित प्राचीन ऐतिहासिक गोल्मा भीमेश्वर मन्दिरको पुनर्निर्माण शुरु भएको छ।

करीब दुई सय वर्ष पुरानो मन्दिर पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेको हो।

चालु आवमा १५ लाख रकम विनियोजन गरी पुरातत्व विभागले परम्परागत सुर्खी र चुना प्रयोग गरी पेगोडा (छानेशैली) मा सो मन्दिर बनाउन लागेको हो।

पुरातत्व विभागका इञ्जिनीयर सुजन बुढाथोकीका अनुसार चालु आवमा डिपिसी सकी आगामी आवमा मन्दिरको पेटीसहित १२.५ –१२.५ फिट लम्बाइ चौडाइ र गाह्रोको मोटाइ २ फिटको मन्दिर पहिलेकै ढाँचामा बन्नेछ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीशङ्करले विसं १९०८ देखि १६सम्म मन्दिरको गुठीले जग्गाको आयस्ता लिएको र सरकारलाई केही बुझाएको जङ्गबहादुरको पञ्जापत्र (लालमोहर) लागेको अभिलेख आफूहरुसँग रहेको बताउँछन्।

गोल्मा भीमेश्वर र त्यसको उत्तरमा पर्ने उग्रचण्डी लिस्तीमाईको नेपाल तिब्बत युद्धताका जङ्गबहादुर राणाले पूजाआजा गरी दुगुनागढीतर्फ लागेको बताइएको छ ।

सिन्धुपाल्चोक जिल्लाको प्रमुख व्यापारिक केन्द्र बाह्रबीसे बजारबाट उत्तरपश्चिम पर्ने बाह्रबीसे –भैरवकुण्ड सडकको चार किमी दूरीमा पर्ने मानेश्वाँरा गोल्मास्थानस्थित प्राचीन ऐतिहासिक धरोहर गोल्मा भीमेश्वर मन्दिरमा करीब दुई सय वर्षअघिदेखि नित्य पूजाआजा गरिँदै आएको गोल्मा भीमेश्वर मन्दिर सम्बद्र्धन समितिले जनाएको छ।

त्यसैबेलादेखि गोल्मा भीमेश्वर मन्दिर निर्माणस्थलमा दुई रोपनी आठ आना जग्गा र गुठी व्यवस्थापनका लागि २८ रोपनी आवादी खेत हर्रे भन्ने ठाउँमा रहेको समितिले जनाएको छ।

मन्दिरमा चण्डीपूर्णिमा, जेठ पूर्णिमा र धान्यपूर्णिका दिन मेला लाग्छ। गोल्मा भीमेश्वरले सम्पत्ति, सन्तान, पशुपन्छी, विवाह, शिक्षा, नोकरी, व्यापारमा लाभ दिने तथा चोरीडकैती भई लुटिएको सामान फिर्ता पाइने र बिघ्नबाधा हटाउने जस्ता कामना पूर्ण दिने जनविश्वास छ।

भोटेकोशीको किनारमाथि पर्ने यहाँ पक्की सजिलो बाटो र पानी र मावि तहको विद्यालयको समस्या देखिएको र खेती पनि घट्दो प्रतिफलमा रहेको स्थानीयवासी राम नेपाल बताउँछन्।


  •  
  •  
  •